बागलुङ/लामो खडेरीका कारण पानीका मुहान सुक्न थालेपछि बागलुङ बजारमा खानेपानीको अभाव हुन थालेको छ । मुहान नै सुकेपछि बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गर्ने पानीको वितरण प्रणालीमा समस्या आएको हो ।
बागलुङ बजारमा दैनिक २ घण्टाका दरले वितरण गर्दै आएको खानेपानी अहिले मुस्किलले एक घण्टा मात्रै धारामा आउँछ । पानीका मुहान नै सुकेका कारण पानी वितरणमा समस्या आएको संस्थाका अध्यक्ष केवी राना मगरले बताए ।
भुदी खोला मुहानबाट प्रतिसेकेन्ड १७ लिटरका दरले आउने गरेको पानी अहिले घटेर प्रतिसेकेन्ड ९ लिटर मात्रै आउने गरेको छ । रेश खोला मुहानदेखि प्रतिसेकेन्ड १७ लिटर पानी आउने गरेकोमा अहिले ८ लिटर मात्रै आउँछ । रिठ्ठेखोला मुहानबाट प्रतिसेकेन्ड ४ लिटरका दरले आइरहेको पानी खडेरीका कारण मुहान सुकेर बन्द भएको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए ।
काठेखोलाको पानी कैलमपोखरीमा लिफ्टिङ आयोजनाबाट ल्याउने गरिएको भएपनि त्यो समेत प्रभावकारी हुन सकेको छैन् । विद्युत कटौती भैरहने समस्या, काठेखोलामा नै पानीको कमी लगायतका कारणले लिफ्टिङबाट आउने पानी पर्याप्त नभएको संस्थाले जनाएको छ ।
पानीको अभाव हुँदा वितरण गर्ने समयतालिका समेत फरक परेकाले उपभोक्ता थप मर्कामा परेका छन् । बागलुङ बजारमा चार हजार बढी धाराबाट पानी वितरण हुने गरेको छ । एउटै धारा दुईभन्दा बढी परिवारले प्रयोग गर्ने भएकाले पिउन, शौचालय जान र सरसफाईका लागि समेत उपभोक्ताले चरम अभाव व्यहोरिरहेका छन् । नियमित पानी आपुर्तिमा कठिनाई भएको भन्दै संस्थाले वैकल्पिक व्यवस्थाको तयारी भईरहेको जनाएको छ ।





