
बागलुङ/प्रहरी चौकी स्मार्ट बनाउने, गुणस्तरीय सेवा दिने र चुस्त ट्राफिक व्यवस्थापन गर्ने सरकारी नीति, कार्यक्रम आइरहन्छ । तर जिल्ला प्रवेश गर्ने सिमानाको प्रहरी चौकी जिर्ण छ । छाप्रोमा रहेको चौकीले जिल्लाको पहिचानलाई नै नकारात्मक बनाइरहेको छ ।
१० जना प्रहरी र २ जना ट्राफिकको दरबन्दी रहेको मालढुंगा चौकीमा ८ जना प्रहरी र २ ट्राफिक त नियमित कार्यरत छन् । साँघुरो छाप्रोमा पालो मिलाएर सुत्ने, खाने र काम गर्ने उनीहरुको बाध्यता छ । सवारी साधनको नियमित चेकजाँच र प्रशासनिक कामले यहाँ १५ जना जनशक्तीको व्यवस्थापन गर्नुपर्ने आवस्यकता छ । जिल्लाको प्रवेशद्वारस्थित मालढुंगा प्रहरी चौकीका यतिधेरै जनशक्ती बस्ने स्थान भने छैन ।
बर्षौदेखि जस्तापातालाई ढुंगाले छोपेको दुइकोठे छाप्रोमा बसेको प्रहरीले जिल्ला प्रवेश गर्नेदेखि स्थानीयको सेवा गरिरहेको छ । उनीहरुको खानेबस्ने मात्र नभई प्रहरीले गर्ने दैनिक काम र बरामद हुने सामाग्री राख्ने ठाउँ त्यही हो । यहाँबाट दैनिक सयौं यात्री र सवारी वारपार गर्छन् । तर सुरक्षा पोष्ट बसेको छाप्रो सुकुम्बासी बस्ती जस्छै छ ।
‘आफै अस्तव्यस्त भएर बसेको प्रहरीबाट सुरक्षा चुस्त बनाउन कठिन छ’ सामुदायिक प्रहरी सेवा रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्यले भने, ‘राम्रो भवन बनाएर बसाल्न सकियो भने मात्रै प्रहरीको सेवा पनि गुणस्तरीय हुन्छ ।’
बर्षातमा पानी चुहिन्छ । हिउँदमा धुलो भित्रै पस्छ । हावाहुरीले छाप्रोको जस्ता उडाएर संहाल्न पनि कठिन भएको एक प्रहरीले बताए । चौबिसै घण्टा खटिने प्रहरीलाई न पानीको ओत छ, न धुलोबाट बच्ने कुनै व्यवस्था । बागलुङ नगरपालिका १ को मालढुंगा प्रहरी चौकी व्यवस्थित नहुँदा त्यहाँ कार्यरत प्रहरीले सास्ती खेपेका छन् ।

यहाँ प्रहरी सहायक निरीक्षकसहित १५ जनासम्म राख्नुपर्ने अबस्था रहेको प्रहरी उपरीक्षक ऋषिराम कंडेलले बताए । चौकीमै बस्ने गरी २ जना ट्राफिक दरबन्दी छ । एकै ठाउँमा खाना पकाएर खाने मेस, कार्यालय, सबैजना सुत्नेबस्ने बाध्यता छ ।
यहींबाटै दक्षिण बागलुङको बलेवा, जैमिनी र बरेङ जाने सडक छुट्छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर जोडिएको बिन्दु यहीं हो । यहाँ अन्य चौकीको जस्तो काम मात्रै गरेर पुग्दैन । चौबिसै घण्टा सडकमा गुड्ने सवारी साधनको इन्ट्री गराउनु पर्छ । शंकास्पद गाडीमा खानतलासी गर्ने, शंकास्पद मानिस भेटिएमा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाउने काम गर्नुपर्छ । तर सडकमा उभिएका प्रहरी कहिले धुलाम्मे त कहिले हिलाम्मे भएर बस्न बाध्य छन् । कालीगण्डकी नदी किनारमा हुने दुर्घटनाको खोजी उद्दारमा उनीहरुनै खटिनुपर्छ ।
सरकारी मापदण्डमा ३ रोपनी जमिन खोजेपछि मात्रै गृहमन्त्रालयले चौकी निर्माणका लागि बजेट दिने गर्छ । जग्गा नभएकै कारण बजेट माग गर्न नसकेको प्रहरी अधिकृतहरु बताउँछन् । यहाँको जग्गा लक्ष्मीनारायण गुठीको हो ।
मापदण्ड अनुसारको जग्गा प्राप्तीमा समस्या भएपछि बागलुङ नगरपालिकाले उक्त स्थानमा रहेका अन्य पुराना टहरा हटाएर पर्यटक प्रहरी रहने गरी केही संरचना बनाउने तयारी गरेको छ । ‘तत्काल टहरा हटाउने, त्यसपछि पर्यटक प्रहरीका लागि भएपनि आर्कषक भवन बनाउने लक्ष छ’ नगर उपप्रमुख राजु खड्काले भने, ‘त्यो काम पुरा भएमा प्रहरी चौकीलाई पनि स्थानान्तारण गर्न सकिन्छ ।’ नगरपालिकाले २० लाख रुपैयाँ ती संरचना बनाउन खर्चन सक्ने व्यवस्था गरेको छ ।
प्रहरी उपरीक्षक कंडेलले नागरिक सुरक्षामा पहिलो प्राथमिकता दिने बताए । प्रहरीको पनि सुरक्षाको खोजी भैरहेको उनको भनाइ छ । ‘नगरपालिकाले बनाउने भवनमा तत्काल प्रहरी बस्ने व्यवस्थापन गर्दैछौं’ कंडेलले भने, ‘स्थायी चौकीका लागि भने मापदण्ड अनुसारको जग्गा खोजी गर्नुपर्ने छ ।’ त्यस बाहेक ५ वटा घुम्ती प्रहरी बिट निर्माण गर्ने, मालढुंगामा नम्बर प्लेट मापन गर्ने स्वचालित यन्त्र राख्ने र कालीका मन्दिर आसपासमा ट्राफिक पोष्टको व्यवस्थापन गर्न गृहकार्य गरेको उनले बताए ।





