बागलुङ/उच्च अदालतको पोखरा बागलुङ इजलासमा आर्थिक वर्ष २०८०/८१ को बैशाख २० गतेसम्ममा ३ सय ९० मुद्दा फछ्र्याेट भएका छन् । उच्चमा ४३८ मुद्दा परेका थिए ।
अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ६१ र चालु आर्थिक वर्षमा परेका २ सय ७७ गरी ४ सय ३८ मुद्दामध्ये ३ सय ९० फछ्र्याेट भएको उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधिस मदन पोखरेलले जानकारी दिए । अदालतको लक्ष्य र फछ्र्याेटको प्रगति हेर्दा ८९.०४ प्रतिशत मुद्दा फछ्र्याेट भएको पोखरेलले बताए ।
चालु वर्षमा ३ सय ५५ मुद्दा फछ्र्याेट गर्ने उच्च अदालतको लक्ष्य थियो । ‘रणनीतिक योजनाअनुसार राखिएको कुल लगतभन्दा बढी मुद्दा फछ्र्याेट भएका छन्’ शुक्रबार अदालतको प्रगति विवरण सार्वजनिक गर्दै न्यायाधिश पोखरेलले भने, ‘एक वर्ष काटेका कुनै पनि मुद्दा बाँकी छैनन, गतबर्षको जिम्मेवारी सरेका मुद्दा पनि सबै फछ्र्यौट भएका छन् ।’
अदालतमा सरकारवादी फौजदारीतर्फ अघिल्लो वर्षका ९० र चालु वर्षका १ सय १८५ गरी २ सय ७५, दुनियावादी देवानीतर्फ अघिल्लो वर्षका ४४ र चालु वर्षका ३९ गरी ८३ र फौजदारीतर्फ अघिल्लो वर्षका १६ र चालु वर्षका २४ गरी ४० मुद्दा दर्ता भएका थिए । सरकारवादी फौजदारी तर्फका २५, दुनियावादी देवानी तर्फका १० र फौजदारीतर्फका ३ मुद्दा फछ्र्याेट हुन बाँकी छन् । गतवर्षको जिम्मेवारी सरेर निषेधाज्ञातर्फ २ र चालु वर्षका ८ गरी १०, परमादेशतर्फ १५ र उत्प्रेषणतर्फ ११ मुद्दा अदालत आएका थिए । तीमध्ये निषेधाज्ञाका ८, परमादेशका १२ र उत्प्रेषणका ८ मुद्दा फछ्र्याेट भएका छन् ।





