बागलुङ/बागलुङ नगरपालिका–१२ अमलारचौरको डाँडाखेतका आगलागी पीडितलाई रोटरी क्लब अफ बागलुङले राहत वितरण गरेको छ । आगलागीबाट घरगोठ जलेर नष्ट भएपछि बिचल्लीमा परेका दुई परिवारलाई रोटरी क्लबले नगद ४० हजार रुपैयाँ र भान्सा कोठामा प्रयोग हुने सामग्री वितरण गरेको हो ।
बुधबार साँझ जंगलमा लागेको आगलागी बस्तीमा पस्दा डाँडाखेतका ददिराम पौडेल र यदुनाथ पौडेलको घरगोठ जलेर नष्ट भएका थिए । पीडित परिवारलाई तत्कालका लागि राहत स्वरुप नगद र सामग्री उपलब्ध गराईएको रोटरी क्लब बागलुङका अध्यक्ष दिपेन्द्र बहादुर घिमिरेले जानकारी दिए । क्लबका आगामी अध्यक्ष रामकृष्ण शर्मा, कार्यवहाक सचिव दिपक शर्मा र कोषाध्यक्ष अर्जुन पौडेलको टोलीले डाँडाखेतमा पुगेर राहत बाँडेको हो ।
रोटरी क्लब अफ पोखरा फिस्टेलले दुई परिवारलाई ‘विद्युतिय चुल्हो, प्रदुषण मुक्त भान्छा’ भन्ने प्रोजेक्टअन्तर्गत २० हजार बराबरको इलोक्टोनिक चुल्हो, त्यसमा प्रयोग हुने कुकरसहित भान्साका सामाग्रीहरु प्रदान गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
आगलागी पीडितलाई तत्काल राहत तथा उद्धारका लागि सरोकारवालाको ध्यानाकर्षण गराउन र तत्कालको समस्या समाधान गर्न क्लबका सदस्यहरुबाट स्वस्फुर्त सहयोग संकलन गरेर राहत उपलव्ध गराईएको घिमिरेले बताए ।






