बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जैमिनीमा आठ दिने मेलमिलाप तालिम सम्पन्न

जैमिनीमा आठ दिने मेलमिलाप तालिम सम्पन्न


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८१, शनिबार

बागलुङ/जैमिनी नगरपालिकाको आयोजना र सहयात्रा बागलुङको सहजीकरणमा जैमिनीमा ८ दिने मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।
नगरपालिकाका सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सचिवका लागि उक्त तालिम आयोजना गरिएको हो । बैशाख १४ देखि शुरु भएको तालिम बैसाख २१ गते सम्पन्न भएको नगर उपप्रमुख हरिहर शर्माले बताए । उपप्रमुखको संयोजकत्वमा रहने न्यायिक समितिलाई सहज बनाउन वडा तहमा मेलमिलापकर्ता उत्पादन गर्ने लक्षले यो तालिम आयोजना गरिएको थियो ।
गाउँ गाउँमा हुने विवादहरुलाई समुदायमै समाधान गर्ने लक्षले यो तालिम आयोजना गरिएको हो । सानो विवादलाई चर्काएर अदालतसम्म पुग्दा पक्षहरुको लाखौं खर्च हुने, अदालतमा पुगेपछि हारजितको अवस्था हुने र समाजमा मेलामिलाप कायम हुन नसक्ने भएकोले तालिममार्फत वडातहमा मेलामिलापकर्ता उत्पादन गराइएको शर्माले जानकारी दिए । तालिमपछि वडा तहमा हुने विवादको समाधान उनीहरुले गर्नेछन् । उनीहरुले गरेका मेलमिलापको काम बैधानिक हुनेछ ।
वडा अध्यक्षले भने तत्काल मेलमिलाप गराउन पाउने छैनन् । पदमा रहुन्जेल वडा मेलमिलाप केन्द्रलाई सहयोग गर्ने र पद छाडेपछि उनीहरुले समेत मेलमिलाप गराउन पाउने व्यवस्था छ । त्यसबाहेक वडा सचिव र समुदायका मेलमिलापकर्ताले भने नगरपालिकामा सूचिकृत भएपछि मेलमिलाप गराउन पाउँछन् ।
नगरपालिकाले वडा तहमा कम्तिमा ३ जना मेलमिलापकर्ता भएपछि मेलमिलाप केन्द्र स्थापना गर्न सक्ने प्रावधान छ । उक्त प्रावधानलाई नगरपालिकाले शुरुवात गर्नेछ । तालिममा जिल्ला न्यायाधिस रमेशकान्त अधिकारी, उच्च अदालतका न्यायाधिस यज्ञबहादुर राना, जिल्ला न्यायाधिवक्ता स्वतन्त्र न्यौपाने, जिल्ला अदालतका स्रेस्तेदार शिवराज सुवेदी, अधिवक्ता तथा मेलमिलापकर्ता निरन्जनलाल राजभण्डारी, प्रकाश बराल, गीता श्रीष, लक्ष्मी बास्कोटा र हरिकृष्ण सुवेदीले सहजीकरण गरेका थिए ।
तालिम समापन समारोहमा नगर प्रमुख नरबहादुर पुनले समस्या समाधानका लागि वडा तहमै मेलमिलापकर्ता पाउनु राम्रो पक्ष भएको भन्दै विकास निर्माणदेखि घरायसी विवाद मिलाएर सहज वातावरण बनाउन मेलमिलापकर्तालाई आग्रह गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रहरी उपरिक्षक ऋषिराम कंडेल, प्रमुख प्रशिक्षक निरन्जन लाल राजभण्डारी, सहभागिको तर्फबाट वडा सचिव सिमाना छन्त्यालले मन्तव्य राखेका थिए । नगर उपप्रमुख हरिहर शर्माको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->