म्याग्दी/जिल्लाको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै जलविद्युत कम्पनीको चर्का आलोचना गरेका छन् ।
मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणधीन जलविद्युत आयोजनाले सवारीसाधन अवातजावतमा रोक लगाएपछि पूर्ववत प्रतिबद्धता अनुसार सडकलाई ग्राभेल सहित स्तरोन्नति गर्ने र नियमित रुपमा सडकको धुलो कम गर्न पानी हाल्ने काम सुरु गर्ने सहमति भएपछि सडक सूचारु भएको हो । यसअघि गाउँपालिकासंग जलविद्युत आयोजनाहरुले गरेको प्रतिबद्धता अनुसारको काम नभएपछि स्थानीयबासीले सडक अबरोध गरेको र तत्काल ग्राभेल गर्ने सहमति भएपछि सडक सुचारु भएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
रघुगंगा गाउँपालिकामा ४० मेघावाट क्षमताको राहुघाट, २२.५ मेगावाट क्षमताको ठूलोखोला, ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणधीन अवस्थामा रहेका छन् । बैठकमा राहुघाट जलविद्युतको विद्युतगृह रहेको तिल्किनी उपल्लो आर्यघाटमा जमिनको लम्बाइतथा चौडाइअनुसार प्रतिक्षालय निर्माण गर्ने र आर्यघाट परिसरमा आयोजनाले राखेको ढुङ्गा तथा माटो आर्यघाट परिसरबाट खाली गर्ने निर्णयसमेत भएको छ ।





