बागलुङ/सडकमा हुने दुर्घटना न्युनिकरण गर्ने तथा सडक सुशासन कायम गर्न जिल्लाका सरोकारवाला सहमत भएका छन् । पछिल्लो समय सडकमा हुने दुर्घटना लापरवाहीका कारण भएका तथा जीर्ण सडकले बढेको समस्या न्युनिकरणमा पनि पहल गर्ने सरोकारवाला सहमत भएका हुन् ।
सरोकारवालाले यातायात क्षेत्रमा भएका समस्या समाधान गर्न सबैले पहल गर्ने समेत निर्णय गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले बैसाख २५ देखि ३१ गतेसम्म ट्राफिक सप्ताह मनाउने प्रयोजनका लागि बसेको सरोकारवालाको बैठकमा ती बिषयले पनि प्रवेश पाएको हो । ‘जुन देशमा सडक सुशासन कायम छ, त्यो देश सभ्य भएको मानिन्छ’ सहायक प्रमुख जिल्ला अधिकारी त्रिचाङगत बरालले भने, ‘हामीले सडक सुशासन कायम गर्न सकेनौं ।’ सबैको साझा प्रयास भएमा मात्र त्यो समस्या समाधान हुने उनले बताए ।
प्रमुख जिला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले ट्राफिक सप्ताह मनाउने र सडक सुशासन कायम गराउने समेत निर्णय गरेको हो । आइतबार भएको बैठकमा मध्यपहाडी लोकमार्ग लगायतका सडकहरु स्तरीय बनाउन सबै संयन्त्रमा पहल गर्ने, बागलुङ बेनी सडक चौडा पार्ने क्रममा दुई सातासम्म अबरोध हुने भएकोले सूचना दिएर सडक आवागमन रोक्ने र काम गर्न अनुमति दिने निर्णय भएको हो ।
सडक डिभिजन कार्यालय बागलुङमार्फत हाल निर्माण भैरहेको बाङगेचउर बेनी सडकको कुँडुले नजिकै सडक चौडा बनाउन दैनिक ५ घण्टा सडक अबरुद्द हुने भएपछि बिहान १० बजेपछि ३ बजेसम्म आवागमन रोक्ने निर्णय गरेको हो । हाल बेनी र मुस्ताङदेखि बागलुङको बाटो हुँदै सवारी चल्छन् । साथै, विद्यालय समयमा बन्द नगरी दिउँसोको समयमा बाटो रोक्ने तयारी भएको हो । दुइ सातामा उक्त सडक चौडा भैसक्ने गरी काम गर्ने डिभिजनको तयारी छ ।
त्यस्तै मालढुंगादेखि कालीका मन्दिर सम्मको सडकमा ढल्न लागेका रुख कटान गरेर संभावित जोखिम न्युनिकरण गर्न पनि प्रशासनले सरोकारवाला निकायलाई निर्देशन दिने निर्णय भएको बरालले बताए । त्यस बाहेक ग्रामीण क्षेत्रमा चल्ने सवारी भाडा निर्धारण गर्न बनेको उपसमितिलाई यथाशिघ्र प्रतिवेदन दिन आग्रह गरिएको छ । सहायक प्रजिअको नेतृत्वमा यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी, यातायात व्यवसायीको सहभागितामा बनेको समितिलाई उक्त प्रतिवेदन माग गरिएको हो ।
ट्राफिक सप्ताहमा पहिलो दिन बैसाख २५ गते बागलुङ बजारमा सचेतना ¥याली संचालन गर्ने, मुल समारोह गर्ने कार्यक्रम तय भएको हो । त्यस्तै दोश्रो दिन गलकोटमा ट्राफिक सचेतना कार्यक्रम गर्ने, तेस्रो दिन ढोरपाटन नगरपालिकामा सचेतना कार्यक्रमसहित अन्य क्रियाकलाप संचालन गर्ने भएको हो । लघु सचेतना कार्यक्रममार्फत गतिविधि संचालन हुनेछ । त्यस बाहेक लामो दुरीका सवारीमा २ जना चालक राख्ने नियम पालना गर्न लगाउने, पर्चा पम्प्लेट र मास्क बितरण, चालकलाई प्रशिक्षण चालकहरुको रक्तचाप र मधुमेह परीक्षण गराउने र अन्तिम दिन पत्रकार सम्मेलनमार्फत प्रगती सार्वजनिक गर्ने, यातायात व्यवसायी, मजदुर, स्थानीय तह, शैक्षिक संस्था समेतको सहभागितामा दिप प्रज्वलन गरेर सप्ताह समापन गर्ने योजना बनाइएको छ ।
जिल्ला प्रशासन, प्रहरीसहित सुरक्षा निकाय, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायीसहित सरोकारवालाहरुले नियमित बैठक बसी आइपर्ने समस्या समाधान गर्ने र सडक सुशासन कायम गर्न पहल गर्न पनि सहमत भएका छन् ।
पछिल्लो समय रातो प्लेटका गाडीले यात्री बोक्दा भाडाका गाडीमा समस्या आएको भन्दै चर्को शुल्क समेत रातो प्लेटले लिएको व्यवसायीले बताए । ‘हामीले सस्तो भाडामा सवारी छुटाएका छौं, तर नागरिकले रातो प्लेटमा चर्को भाडा तिरिरहेका छन्’ धौलागिरि गण्डकी यातायात कम्पनीका अध्यक्ष उमेश केसीले भने, ‘यो समस्याबारे प्रशासन संवेदनशिल बन्नुपर्छ ।’ उनले गैरकानूनी काम गर्नेबाट बैधानिक संस्थाहरु समस्यामा परेको समेत बताए । सडक सुशासन कायम गर्न व्यवसायी र कम्पनी सचेत रहेको उनले बताए ।





