बागलुङ/जिल्लाको निसीखोला गाउँपालिकाको कार्यालयमा लगाएको ताला चार दिनपछि खुलेको छ । नेकपा एमाले निसीखोला गाउँ कमिटि र गाउँपालिकाबीच सहमति जुटेपछि कार्यालयमा लगाईएको ताला खुलेको हो ।
स्वार्थ बाझिनेगरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा काम गर्नेगरी प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको भन्दै गत बिहिबार नेकपा एमाले निसीखोला गाउँ कमिटिले कार्यालयमा ताला लगाएर आन्दोलन घोषणा गरेको थियो ।
आइतबार गाउँपालिकाको कार्यालयमा आयोजना गरिएको सर्वपक्षयि छलफलमा संघीय सरकारले पठाएका प्रमुख प्रशाासकीय अधिकृतलाई नै काम गर्न दिने, कर्मचारीको हाजिरी नगराईएको बिषयमा सर्वदलिय छानविन समिति गठन गर्ने, कर्मचारीका काम कारवाहीका बिषयमा अध्यक्षले खोजी गरेर यथार्थ बाहिर ल्याउने, आगामी दिनमा निमित्तको भरमा प्रमुख प्रशासकीय अधिकृतको काम कारवाही नगर्ने सहमति भएको छ ।
संघीय सरकारका कर्मचारी आउँदा हाजिरकापी नभेटिएको बिषयमा छानविन गर्न गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ती मगरको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन भएको छ । समितिका सदस्यहरुमा नेपाली कांग्रेसका तारानाथ पौडेल, एमालेका भुमिराज घर्ती मगर, माओवादी केन्द्रका भीम बहादुर घर्ती मगर, राष्ट्रिय जनमोर्चाका थम्मन घर्तीमगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेघध्वज मल्ला र अनुप बुढा मगर सदस्य रहेका छन् । समितिले दिएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सहमति समेत भएको छ । तालाबन्दीले लामो समय सर्वसाधारण सेवा पाउनबाट बञ्चित भएका थिए ।





