बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जताततै डढेलोले वातावरण प्रदूषित

जताततै डढेलोले वातावरण प्रदूषित

अस्पतालमा उपचारमा आउनेहरुमा पनि श्वासप्रश्वासको समस्या भएका धेरै देखिएको र त्यसको कारण धुँवाधुलो भएको धौलागिरि अस्पतालका मेसु डा. रविरन्जन प्रधानले बताए ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०८१, सोमबार
oppo_16

बागलुङ/वैशाख लागेदेखि बागलुङका जंगलहरुमा दैनिक जसो आगलागी भएको छ । प्रहरीको तथ्यांकमा वैशाखमा मात्रै २७ वटा जंगलमा आगलागी भएको छ । आगोले सबै जंगल सखाप मात्र भएको छैन १० स्थानका घरगोठमा क्षति पुगेको छ । त्यसबाट दर्जनौ पशुचौपाया र दुई जना मानिसको ज्यान समेत गइसकेको छ । ती घटनापछि फैलिएको आगो अझै नियन्त्रणमा छैन । अहिले पनि जतासुकै जंगलमा धुँवा उडेको देखिन्छ । जंगली जनावर र पशुपंक्षी कति मरे यकिन छैन ।
दैनिक आगो लाग्दा आकासमा उडेको धुँवाले दिउँसै अध्यारो जस्तो देखिन्छ । घरका छतमा धुलोको थुप्रो लाग्छ । जसका कारण सफाइ नगरे घरभरी धुलोले सताउने गरेको अधिकांशको गुनासो छ । धुँवाका कारण आँखा पोल्ने समस्या पनि छ । ज्वरो तथा रुघाखोकीका बिरामी समेत बढेको अस्पतालको तथ्यांक छ ।
बानपा ३ का जयन्द्र उपाध्यायले आगलागीले घरमा खरानी उडेर आएको बसी नसकनु भएको गुनासो गरे । दैनिक आउने धुँवाले स्वास्थ्यमा समेत असर परेको भन्दै आगो लगाउनेहरु पक्राउ गरेर कारवाही गर्नुपर्ने बताए । ‘जता हेरेपनि आगो लागेकै देखिन्छ तर कसले लगायो खोजी भएको छैन,’ उपाध्यायले भने, ‘दिउँसो गर्मी पनि बढीरहेको छ ।’ घाम लागेको नदेखिने तर गर्मी बढ्ने भएको उनले बताए ।
अस्पतालमा उपचारमा आउनेहरुमा पनि श्वासप्रश्वासको समस्या भएका धेरै देखिएको र त्यसको कारण धुँवाधुलो भएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविरन्जन प्रधानले बताए । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आँखा पोल्ने समस्या भएको गुनासो गरे । नगरपालिकाको फोहोर फाल्ने स्थानमा लागेको आगोले बजारबासीलाई सताएको रिजालको भनाइ छ । तत्काल निभाउने काममा नगरपालिकाले समेत उदाशीनता देखाएको उनको टिप्पणी छ । नगरपालिकाले एकदुइपटक आगो निभाउने प्रयास गरेपनि निभेको छैन ।
केही स्थानमा आगो निभाउने प्रयास भएपनि अधिकांश स्थानमा अनियन्त्रित छ । जसका कारण वातावरण प्रदुषण भएको हो । अधिकांस जंगलमा आगो लाग्नुमा प्राकृतिक कारण भने नभएको प्रहरी उपरीक्षक ऋषिराम कंडेलले बताए । नियोजित रुपमा आगो लगाउँदै हिंड्ने केही मानिस पक्राउ समेत परेको उनले बताए । प्रहरीको तथ्यांक अनुसार बैसाखमा मात्रै बागलुङका २७ वटा सामुदायिक वनमा आगलागी भएको छ । ती घटनामा २ जनाको मृत्यु, २ घाइते भएका छन् । १० घर र १० गोठ जलेका छन् । ४३ घरपालुवा जनावरको मृत्यु भएको छ ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सेना र सशष्त्र प्रहरीसहित स्थानीय खटिएका छन् । स्थानीय तहले राहत तथा खाद्यान्नका लागि सहयोग गरेका छन् । डिभिजन वन कार्यालयले सबै सुरक्षा निकायलाई आगो निभाउने उपकरण सहयोग गरेको छ । तर वातावरण संरक्षणतर्फ भने कुनै काम नभएको पाइएको हो । ‘घटनापछि आगो निभाउने काममा साथ र सहयोग भएको छ, तर पूर्वतयारी केही पनि देखिएन,’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, ‘घटना भएपछि राहत र उद्दारमा भने हामी पनि खटिएका छौं ।’ वातावरणमा परेको समस्याबारे सबै सचेत बन्न सकेमा आगलागीका घटना न्युनिकरण गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->