बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

खडेरीले मुहान सुकेपछि खानेपानीको वैकल्पिक तयारी

खडेरीले मुहान सुकेपछि खानेपानीको वैकल्पिक तयारी

बागलुङ बजारमा पानी बितरणका लागि संस्थाले कैलामपोखरीबाट ४ इन्चीको जिआइ पाइपमा रात्माटाको ट्याङ्कीमा पानी खसाल्ने काम गरिरहेको छ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०८१, मंगलबार

बागलुङ/खडेरीले जतासुकै मुल सुकेका छन् । खानेपानीको आपूर्तिमा समस्या थपिएपछि बागलुङ नगर खानेपानी उपभोक्ता संस्था पनि अछुतो रहन सकेन ।
१९ किमी परको रेशखोलाबाट आएको १७ लीटर प्रतिसेकेण्ड पानी घटेर ६ लीटरमा पुगेको छ । त्यस्तै भुँदीखोलाको पनि पानी बढीमा ८ लीटर प्रतिसेकेण्ड आएको छ । तर बजारबासीलाई प्रतिसेकेण्ड ७० लीटर पानी चाहिन्छ ।
त्यसको विकल्पको रुपमा निर्माण भैरहेको कैलामपोखरी लिफ्ट आयोजना अझै ठेकेदारले पुरा गरेको छैनन् । हस्तान्तरण नभएकोले उक्त पानी प्रयोगमा आएको थिएन । बजारमा पानी सुकेर वितरणमा समस्या आएपछि संस्थाले आन्तरिक गृहकार्य गरेर वैकल्पिक उपाया खोजेको छ । उक्त विकल्प अनुसार बजारमा पानी वितरणका लागि संस्थाले कैलामपोखरीबाट ४ इन्चीको जिआइ पाइपमा रात्माटाको ट्याङ्कीमा पानी खसाल्ने काम गरिरहेको छ । यो पानी मंगलबारदेखि उपभोक्तालाई बितरण गरिने संस्थाका अध्यक्ष केवी रानमगरले बताए ।
पानीको अभाव हुन थालेपछि बजारमा हाहाकार चलिसकेको थियो । तित्याङको रिठेखोलाबाट आएको पानी समेत सुकेपछि वितरणमा सास्ती भएको भन्दै समितिले विकल्पको रुपमा स्टक पाइप बिच्छ्याएर रात्माटा पु¥याएको हो । पाइप पुर्नका लागि बागलुङ नगरपालिकाले डोजर सहयोग गरेको थियो ।


मंगलबारबाट वितरणमा केही सहज हुने रानाले विश्वास गरेका छन् । ‘पानीको हाहाकार नहोस् भनेर आन्तरिक निर्णयमार्फत यो काम गरेका हौं’ रानामगरले भने, ‘यो पनि पर्याप्त भने होइन ।’ पानी अभाव भएपछि बजारबासीहरु गलुवाखोला, सहश्रधारा लगायतका स्थानमा पुगेर खानेपानी ल्याउने गरेका छन् ।
बागलुङ बजारमा सहज पानी बितरण गर्न दैनिक प्रतिसेकेण्ड ७० लीटर पानी चाहिन्छ । ठेकेदार कम्पनीले भने योजना हस्तान्तरण नगर्दा भएको श्रोतको पनि सदुपयोग हुन नसकेको हो । ‘हाल अस्थायी रुपमा पानी खुवाउन गरिएको प्रयास भएपनि यो स्थायी होइन’ रानाले भने, ‘आयोजना सफल भयो भने त्यसबाटै पानी खुवाउन सकिन्छ ।’ काठेखोलाबाट पानी संकलन गरेर हाल निर्माण भएका ट्यांकीबाट बजारमा खुवाउने लक्ष छ । ठेकेदार कम्पनी जयमाता इन्जिनियरिङ कम्पनीले आयोजना हस्तान्तरण गर्ने कहिले भन्ने यकिन छैन ।
२०३२ सालमा पहिलो पटक बागलुङमा तित्याङको रिठेखोलाबाट खानेपानी ल्याइएको थियो । यो आयोजनामा १३ सार्वजनिक धारा बनेका थिए । तत्कालिन राजा बिरेन्द्रले आयोजनाको उद्घाटन गरेको इतिहास छ । बागलुङ बजारमा अहिले ४ हजारबढी धारा भैसकेका छन् । तर अधिकांस धारामा खडेरीको समयमा पानी खस्दैन । उपभोक्ता समितिको ३० प्रतिशत र संघिय सरकारको ७० प्रतिशत लगानी गर्ने गरी २०७३ सालमा थालिएको आयोजना अझै हस्तान्तरण नभएको हो ।
डिआइ पाइपमा समस्या आएपछि लिफ्ट पानी आपूर्ति भएको थिएन । पहिले देखिनै डिआइ पाइप काम छैन भन्दाभन्दै ठेकेदारले डिजाइनमा भएको भन्दै उक्त पाइप प्रयोग गरेको थियो । ‘हामीले भनेका थियौं, ठेकेदारले मानेनन्, अहिले त्यो पाइपको समस्याले खानेपानी बितरण ढीला भयो’ संस्थाका प्रबन्धक हिमाल प्रसाद शर्माले भने, ‘अहिले अस्थायी प्रयोजनमा पनि जिआइ प्रयोग गर्नुपरेको छ ।’ गत बर्षातमा पनि डिआइ फाइप फुटेर परीक्षणमा समेत समस्या आएको थियो । बाढीले पनि डिआइमा समस्या आएको छ भने जिआइमा समस्या भएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->