बागलुङ/बागलुङमा मंगलबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । सवारी दुर्घटना सम्बन्धि सचेतना विस्तार गर्ने उद्देश्यसहित विविध कार्यक्रम गरेर सप्ताह मनाउन लागिएको हो । ट्राफिक सप्ताहले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जनस्तरमा सचेतना विस्तार गर्ने ट्राफिक प्रहरी प्रमुख सुमन निउरे बताए ।
ट्राफिक सप्ताहमा कारवाहीको डण्डी बोकेर सडकमा उभिने ट्राफिक प्रहरी समुदायसँग मिलेर सचेतना बिस्तारका लागि सडकमा उभिने छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय बागलुङको समन्वयमा ट्राफिक सप्ताह सुरु भएको हो ।
ट्राफिक सप्ताह बैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ । ट्राफिक सप्ताहको पहिलो दिन ट्राफिक सचेतना मुलक प्लेकार्डसहित प्रभातफेरी गरिएको थियो । बागलुङ बजार, गलकोटको हटिया र ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारमा ¥याली सहितको कार्यक्रम गरिएको प्रहरी नायव निरीक्षक सुमन निउरेले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले ट्राफिक सप्ताह सडक सुरक्षाका लागि महत्वपूर्ण कार्यक्रम भएको बताए । दुर्घटना भएपछिका क्रियाकलापभन्दा दुर्घटना हुन नदिनका लागि हुने क्रियाकलापहरुलाई महत्वका साथ हेर्नुपर्ने उनको धारणा थियो ।
ट्राफिक सप्ताह उद्घाटन सत्रमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेल, बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, यातायात व्यवस्था कार्यालयका कार्यालय प्रमुख गुमादेवी शर्मा, धौलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसी र राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बोलेका थिए ।
कार्याक्रम प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षता, जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक सुमन निउरेको स्वागत र जिल्ला प्रहरी कार्यालय बागलुका प्रहरी निरीक्षक दीपक बाबु केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।





