बागलुङ/खानेपानी नभएपछि जैमिनी नगरपालिका १ को कुश्मीसेरामा हाहाकार जस्तै भएको छ । धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउन बाध्य छन् ।
खडेरीले मुल सुकेको र वर्षौदेखिका योजना पूरा नभएपछि स्थानीयले सास्ती खेप्न बाध्य भएका हुन् । ‘पानी खोज्न हिँड्दा विद्यालय समयमा पुग्न सकेका छैनौँ,’ कक्षा ८ मा पढ्ने सोनम नेपालीले भनिन्, ‘धारोमा पानी आउन छाडेको छ ।’ पानी सुकेपछि तातोपानी भन्ने खोल्सामा पुगेर पानी ल्याएको उनले बताइन् ।
उनकै छिमेकी सोनु नेपाली पनि पानी खेप्न जाँदा गृहकार्य गर्न नपाएको बाध्यता सुनाउँछिन् । धारोमा पानी नआएपछि कुवाबाट पानी खेपेर ल्याएको उनले बताइन् । विद्यालयका बालबालिका मात्र हैन, उमेर पुगेकाहरुले पनि पानी खेप्न हैरानी भएको गुनासो गरे । स्थानीय कृष्णमाया थापाले भनिन्, ‘खडेरीले हैरान बनायो ।’ खडेरीसँगै जंगलमा लागेको डढेलोले कैयौं पानीका मुलमा समस्या आएको स्थानीयले बताए ।
काम भ्याएर कार्यालय जानेलाई पनि पानीकै सास्ती छ । ‘धारोमा पानी छैन, खेपेर ल्याउँदा काम भ्याउनै मुस्किल छ,’ स्थानीय शिक्षक यमुना शर्माले भनिन्, ‘यो वर्ष त पानीको हाहाकार नै भयो ।’ दश वर्षअघि कुश्मीसेराका एक घर ः एक धारा अभियान चलेको थियो । पाइप गाडिसकेपछिको जग्गा विवादले योजना अलपत्र छ ।
पानी अभावमा बारीमा लगाइएका सागपात समेत ओइलिएको छ । पानीकै अभावमा तरकारी अभाव भएपछि तराइ र पोखराबाट झिकाउनु परेको स्थानीय साना व्यवसायीले गुनासो गरे । ‘पहिला तरकारी यहीँ पुग्थ्यो, अहिले गाडीमा आउन थाल्यो,’ स्थानीय सरिता शर्माले भनिन््, ‘सागपात खाने पनि रहर जस्तो भैसकेको छ ।’ २०५० देखि निरन्तर यहाँको छहरा खोलाबाट पानी खाएकाहरु समेत अहिले मुल सुकेर हैरान छन् । यो मुलबाट टारका ४५ र सामरुम्टाका ४५ गरी ९० घरले पानी खाइरहेका छन् । पानीको समस्यामा उनीहरु समेत थपिएका हुन् ।
वर्षौअघि बानपा ११ को रायडाँडाबाट पानी ल्याउने गरी योजना बनेको थियो । उक्त योजना अनुसार यहाँ धारा बनेका छन् । पाइपलाइन पनि बिच्छ्याइएको छ । मुहानमै विवाद भएपछि पानी आउने संभावना छैन । ‘हामीले धेरैनै पहल गरिरहेका छौं तर जग्गावालाले विवाद झिकेर मुहान बनाउन सकेका छैनौं,’ वडा अध्यक्ष बिष्णुप्रसाद आचार्यले भने । रायडाँडाबाट ल्याउने प्रस्ताव भएअनुसार ९० एमएमको पाइप बिच्छ्याइएको छ । तर अहिले ३० एमएम मात्रै पानी आएको छ ।
कुश्मीसेरा बजारमा अधिकांशले खोलाखोल्सीबाट पानी ल्याएका छन् । उक्त पानी शुद्ध नभएकोले उमालेर मात्रै खान सुझाव दिएको आचार्यले बताए । ‘मुख्य योजना सफल नभएसम्म पानीको हाहाकार छ,’ आचार्यले भने, ‘आसपासका सबै वनमा डढेलो लागेकोले पानीका स–साना श्रोत समेत सुकेका छन् ।
आयोजनाअन्तर्गत २ सय ६० घरमा धारा बनाइएको छ । आर्थिक बर्ष २०७१÷०७२ देखि निर्माण शुरु भएको यो आयोजना अझै पुरा नभएको हो । कुल १७ करोड ४० लाखको यो आयोजनामा अहिलेसम्म १३ करोड ७० लाख रुपैयाँ खर्च भैसकेको छ । ‘हामीले भौतिक रुपमा ८५ प्रतिशत र वित्तीय रुपमा ८४ प्रतिशत प्रगति गरेका छौँ,’ खानेपानी तथा सरसफाइ डिभिजन बागलुङका प्रमुख किरण पौडेलले भने, ‘केही समस्याले पानी बितरण गर्न नसेका छैनौं ।’ मुहानबाट पाइपलाइन बिच्छ्याइएको स्थानमा पहिरो गएपछि स्थानीयले पानी लैजान नदिएपछि बितरणमा समस्या भएको हो । बितरणमा समस्या आएपछि डिभिजनले बैकल्पिक उपायको खोजी गरी दुई स्थानमा लिफ्ट पानीको परीक्षण गरेको छ ।





