बागलुङ/बलेवास्थित कालभैरव मन्दिरको आम्दानी गुठी व्यवस्थापन समितिले परिचालन गर्ने प्रयास थालेको छ । गुठी संस्थानको संरक्षकत्वमा मालपोत कार्यालयमार्फत हरेक वर्ष ठेक्का लगाउँदै आएको मन्दिरको आम्दानी समिति मातहतमा ल्याउने प्रयास थालिएको हो ।
शनिबार बलेवा भैरव गुठी व्यवस्थापन समितिको संयोजनमा बसेको सर्वपक्षीय बैठकले मन्दिर परिसरको विकास प्रबद्र्धनका लागि स्रोत साधन पनि समितिको मातहतमा ल्याउनुपर्ने निस्कर्ष निकालेको हो । मालपोत कार्यालयमार्फत गुठी संस्थानलाई आग्रह गरेर आगामी साउन १ गतेदेखि मन्दिरको स्रोत साधान समितिले संरक्षण र उपभोगमा ल्याउने निर्णय भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए ।
जिल्ला प्रशासन, प्रहरी, मालपोत, बागलुङ नगरपालिका, बलेवा क्षेत्रका वडा अध्यक्ष, गुठी व्यवस्थापन समिति र स्थानीय सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो । यसअघि लगाईएको ठेक्कको म्याद आगामी असार मसान्तमा सकिदै छ ।
‘बागलुङ कालिका मन्दिरकै उदाहरण हेर्ने हो भने समितिको मातहतमा स्रोत साधन आएपछि धेरै विकास भएको छ, मन्दिरको आफ्नै स्रोतले त्यहाँ कयौं संरचना बनेका छन्, अन्यत्र पनि यस्ता उदाहरण धेरै छन्’ ढकाल भन्छन् ‘भक्तजनको सुविधा र मन्दिर परिसरलाई पूर्वाधार सम्पन्न बनाउन यो निर्णय सहयोगी बन्न सक्छ ।’
हालसम्म मन्दिरको गुठी, मन्दिरमा चढ्ने भेटी र मोठ समेत गरेर १० लाखभन्दा माथी ठेक्का लागेको तथ्यांक छैन । चालु आवमा ९ लाख १० हजार रुपैयाँमा ६० मुरी धान फल्ने खेतसहित मन्दिरको सबै स्रोत साधन ठेक्का लगाईएको थियो ।
मन्दिर परिसरमा खुल्ला आकाशमुनी हुने फुल प्रसादको किनबेचलाई व्यवस्थित गर्न बनाईएका सटर पनि गोप्य बोलपत्रमार्फत भाडामा लगाउने निर्णय भएको छ । समितिले २० लाख रुपैयाँ खर्चेर ११ वटा सटर तयार गरेको छ । ‘मन्दिरका लागि सटर आम्दानीको स्रोत हो, सटरले खुल्ला रुपमा मनोमानी भैरहेको व्यापार रोक्छ, चौरमा हुने व्यापारले सौन्दर्यतामा देखिएको समस्या हल हुनेछ’ ढकालले भने ।
बलेवा सेवा समाज जापानले एक सय किलोको घण्ट राख्न गरेको प्रस्ताव बैठकले स्वीकृत गरेको । मन्दिर परिसरमा दिगो व्यवस्थापन हुनेगरी घण्ट राख्न दिने निर्णय भएको हो । मन्दिर परिसरमा डिभिजन वन कार्यालयको २० लाख लगानीमा तयार भैरहेको पदमार्ग, पूर्वाधार कार्यालयको २० लाख अनुदानमा बनेको सचिवालय भवनको उपयोग लगायतका बिषयमा सरोकारवालाले चासो व्यक्त गरेका थिए ।





