बागलुङ/आठ वर्षकी बालिका सृष्टी मानवसेवा आश्रममा हुर्केकी छिन् । आश्रम संचालक बिपना तामाङले उनको स्याहार गरेर नियमित विद्यालय पठाउँछिन् ।
आश्रम संचालक बिपना र पूर्व संचालक सुमिरालाई नै उनले आफ्नो अभिभावक सम्झेकी छिन् । सुरुमा हुर्काउने काम गरेकोले लामालाई त आमा भनेर सम्बोधन गर्छिन् । सडकमा गर्भवती र अर्धचेत अवस्थामा भेटिएकी बंगलादेशी नागरिकलाई आश्रमले उद्दार गरेपछि सृष्टि जन्मेकी हुन् । नेपाली बोल्न नसक्ने ती महिलालाई आश्रममा मीना नाम दिइएको छ ।
छिटफुट हिन्दी र बंगाली भाषा बुझ्ने उनी यहाँ कसरी आइपुगिन् भन्ने पत्तो छैन । त्यतिमात्र हैन, अहिले सामान्य अवस्थामा पुग्दा पनि उनले आफ्नो घरपरिवारबारे बताउन सक्दिनन् । सडकमा अर्धचेत अवस्थामा भेटिएपछि मानवसेवा आश्रमको मेची–महाकाली यात्राबाट उद्दार गरेर उनलाई आश्रममा राखिएको हो ।
जोखिम अवस्थाकी गर्भवतीबाट सृष्टिले सकुशल जन्म पाएकी थिइन् । उनी मात्र हैन, बागलुङमा रहेको मानवसेवा आश्रममा ८ जना बालबालिका आश्रित छन् । ५७ आश्रितमध्ये अरु बयष्क हुन् । तर, संयोगले सबै बालबालिका सांग छन् । शारीरिक र मानसिक रुपमा स्वस्थ्य रहेकोले आश्रमले विभिन्न श्रोत खोजेर पढाएको छ ।
१५ वर्षे बिनुको नेतृत्वमा सबै बालबालिका बिहान पढ्छन् । पोशाक लगाएर विद्यालय जान्छन् । उनीहरुमध्ये अधिकांशका अभिभावकबारे पत्तो छैन । त्यसैले नामको पछाडि थर नजोडी मानव राखिएको छ ।
७ वर्षअघि निसीखोला गाउँपालिका २ को देविस्थानबाट आश्रममा आइपुगेकी १५ वर्षीया बिनु रसाइली अहिले कक्षा ९ मा पढ्छिन् । उनकी बहिनी कोपिला ११ वर्षकी भइन् । भारतमा काम गर्दा गर्दै बिरामी परेर दृष्टीविहीन भएका नरबहादुर बिकलाई पत्नीले छाडेपछि बिनु र कोपिलाले मागेर खाएका थिए । बिनु र ४ वर्षकी कोपिलासहित नरबहादुर ७ वर्षअघि आश्रम आइपुगेका थिए । बिनु अहिले आश्रम संचालक बिपनाकी सहयोगी बनेकी छन् । भन्छिन् ‘ठूलो भएपछि आश्रम संचालक बनेर मानव सेवा गर्छु ।’ बालबालिकालाई मानव सेवाबारे शिक्षा दिइएको छ ।
काठेखोला ३ की १६ वर्षीया शोभा बिक पनि गतवर्ष आश्रम आइपुगेकी छिन् । घरपरिवारको हिंसाबाट उनी आश्रम आइपुगेकी हुन् । पारिवारिक समस्याले फालिएका, घरबार र परिवारविहीन भएकाहरु आश्रम आइपुगेका छन् । उनीहरु सबै आश्रमबाट विद्यालय पढ्न जान्छन् । ४ वर्षकी टेरिसा, ७ वर्षकी पूर्णिमा, ७ वर्षका सफल र ३ वर्षीया दृष्टि पनि आश्रममा हुर्केका छन् ।
दैनिक विद्यालय पठाउने काममा बिपना खटिन्छिन् । आश्रमको काम विशेषले बाहिर निस्कुन पर्दा तामाङले बालिका उमेरकै भए पनि बिनु र शोभालाई जिम्मेवार बनाएकी छिन् । उनीहरुले सबै बालबालिका सम्हालेर विद्यालय पठाउने र आफू पनि पढ्ने काम गर्छन् । उनीहरुमध्ये अधिकांशका अभिभावक छैनन् । बिनुका बाबु दृष्टिविहीन भएकोले आश्रममै बस्छन् । उनीहरुलाई पढाउने काम छुट्टै चुनौतीको छ । यो चुनौती व्यहोरेकी तामाङलाई आश्रमको अभिभावकको रुपमा शिव खड्का, लक्ष्मी बास्कोटा र सरिता गौतमलगायतले साथ दिएका छन् ।
आश्रममा अहिले पनि ५७ जना आश्रित छन् । तीमध्ये ४० जना मानसिक समस्या, उच्च रक्तचाप र शारीरिक अपांग समेत छन् । हरेकलाई दैनिक प्रेसरको औषधि खुवाउनुपर्ने बाध्यता रहेको तामाङले बताइन् । सातैजना बालबालिकालाई भने कुनै औषधि दिनुपर्दैन । आश्रितलाई दैनिक खाना र औषधी गर्दा ठूलो खर्च निस्कन्छ ।
‘सामान्य स्याहार गरेर राख्दा पनि प्रतिव्यक्ति न्यूनतम मासिक १५ हजार खर्च हुन्छ,’ आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले भने, ‘पूरा खर्च जुटाउन कति धौधौ भएको होला ?’ हरेक आश्रम रहेको स्थानका बासिन्दाले नियमित रुपमा गरेको सहयोगबाट आश्रितलाई सेवा दिन सकिएको उनले बताए ।





