बागलुङ/साताव्यापी विविध कार्यक्रम गर्दै ट्राफिक सप्ताह समापन भएको छ । सडक दुर्घटना न्युनिकरणकालागि समुदायसँगको साझेदारीमा गरिएका सबै क्रियाकलाप सम्पन्न भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुमन निउरेले बताए ।
बैसाख २५ गतेदेखि शुरु भएको कार्यक्रम सोमबार सम्पन्न भएको हो । सप्ताहको समापनको अबसरमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सुन्दर नगर बनाउने अभियानमा ट्राफिक सप्ताह सहयोगी बनेको बताए । उनले सडक सुरक्षा, सफाइ, जनचेतना अभिवृद्दी जस्ता कामहरु सुन्दर नगरपालिकाको लागि सहयोगी भएको बताए ।
श्रेष्ठले नगरभित्र फुटपाथ व्यवस्थापनको काम गरिरहेको बताउँदै ट्राफिक व्यवस्थापनमा त्यो कामपनि उपयोगी हुने बताए । ‘हामीले सरकारी अड्डाका गेट बन्द नगरौं, अनावस्यक सवारी सडकमा पार्क नगरौं, आधा समस्या समाधान हुन्छ’ श्रेष्ठले भने, ‘सडक सुरक्षा हामी सबैको चासोको बिषय बन्नुपर्छ ।’ उनले रातमा चर्को ध्वनी सहित कुद्ने मोटरसाइकल नियन्त्रणको समेत आवस्यकता औल्याए ।
कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेलले ट्राफिक सचेतना सहितका अभियानले जनतामा सकारात्मक सन्देश गएको बताए । जिल्ला प्रहरी प्रमुख ऋषिराम कंडेलको अध्यक्षता, ट्राफिक प्रमुख सुमन निउरेको संचालनमा सम्पन्न कार्यक्रममा यातायात व्यवसायी, निर्माण व्यवसायी, नगरभित्रका टोल सुधार समिति, आमासमूह लगायत विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।
सप्ताहमा रक्तदान, सरसफाइ, लघु सचेतना, पर्चा पम्प्लेट बितरण, स्वंसेवकबाट पैदलयात्रीलाई बाटो काट्ने तरिका सिकाउने, सडकका खाल्डा पुर्ने, अव्यवस्थित पार्किङ हटाउने, मास्क बितरण, छतमा यात्री राख्न रोक्ने काम गरिएको थियो । साथै रातो प्लेटका पिकअपलाई क्षमताभन्दा बढी सामान राख्न नदिने, यात्री राखेमा जरिवाना गराउने जस्ता काम पनि गरिएको निउरेले जानकारी दिए । सप्ताहको समापनका अबसरमा यो अभियानलाई साथ दिने यातायात व्यवसायी, टोलसुधार समिति, बिषयगत तथा बस्तुगत संगठन र सामाजिक अगुवा तथा आमा समूह र बिद्यालयलाई प्रसंसापत्र बितरण गरिएको थियो ।





