बागलुङ/जैमिनी नगरपालिका र ताराखोला गाउँपालिकामा खायन प्रजातीको आलु संरक्षण अभियान थालिएको छ । बजारमा तराइका आलुभन्दा अधिकांसले स्थानीय आलुको माग गर्छन् । त्यसैले स्थानीय तहकै लगानी र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा आलु संरक्षणको काम भएको हो ।
जैमिनीको वडा नं. ३ को नौला, गाजाको दह, नेपाने बस्तीमा आलु प्रसस्त फल्छ । त्यो आलुलाई व्यवसायिक बनाउन वडा तहमा पहल भएको हो । वडाको अभियानमा पालिकाले साथ दिएको वडा नं. ३ की सचिव सिमाना छन्तयालले बताइन् । यसअघि ताराखोलाको वडा नं. ४ र ५ मा खायन आलु संरक्षण अभियान शुरु भैसकेको छ ।
तराइबाट आउने आलु उपभोक्ताले मन पराउन छाडेपछि ग्रामीण आलुले बजार पाएको होटल व्यवसायी अर्जुन चोखाल बताउँछन् । बजारको चाहना समेत बढेकोले उत्पादन बढाउन पहल भएको हो । बागलुङसहित छिमेकी जिल्लाका उपभोक्ताले आजकल ताराखोला, ढोरपाटन र गाजाको आलुको खोजी गर्छन् । अर्गानिक भएकोले सबैको रोजाइमा आलुलाई व्यवसायिक बनाउन थालिएको छ ।
यसअघि जैमिनी ३ का अधिकांस किसानले अन्नको पैचोका लागि मात्र आलु प्रयोग गर्थे । अहिले भने बजारसम्म लैजान सहज हुने भएपछि व्यवसायिक रुपमा उत्पादन शुरु भएको हो । ‘अर्गानिक उत्पादन गर्ने र बजारमा पनि पठाउने योजना अनुसार किसानले काम गर्नुभएको छ’ वडा नं. ३ का अध्यक्ष कृष्णबहादुर भुजेलले भने, ‘उत्पादन अनुसार अनुदानको पनि व्यवस्था छ ।’ पछिल्लो समय उत्पादनमा आधारित अनुदान पाउने गरी पालिका र ज्ञान केन्द्रले काम गरेका छन् ।
कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले अर्गानिक खायन आलु बिस्तार गर्न सकेमा बजारको कमी नहुने बताए । ‘हामीले अहिलेसम्म ताराखोलामा रसायनिक मल सिफारिससम्म गरेका छैनौं’ उनले भने, ‘अन्य केही तोकिएका स्थानमा पनि त्यो चलन छ ।’
पुनका अनुसार ताराखोलामा मात्रै ‘खायन आलु प्रवद्र्धन कार्यक्रम’ मा १५ समूहसँग सम्झौता गरेर अनुदान तथा आलु प्रवद्र्धनको कार्यक्रम संचालन भएको छ । जैमिनीमा भने छन्त्याल कृषि समूहले यो काम गरेको हो । साथै अन्य किसानले पनि खायन आलुको लागि काम गरेका छन् । ज्ञान केन्द्रले उत्पादन पछि प्रतिकेजी दुइ रुपैयाँ किसानलाई अनुदान दिने गरेको छ । कम्पोष्ट मल प्रयोग गर्दा आलुको गुणस्तर निकै राम्रो भएको पुनले बताए । किसानले आलुबाटै मनग्ये कमाइ पनि गरेका छन् । आलुको बजार समेत सजिलै पाइएकोले किसानले हरेक बर्ष उत्पादन बढाउने गरेको ताराखोला गाउँपालिका की दिलकुमारी पुनले बताइन् । होमस्टेका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ ।





