बागलुङ/बहुदलीय प्रतिष्पर्धाको राजनीतिमा सबै कम्प्युनिष्टहरु आइपुग्ने काम मदन भण्डारीको जनताको बहुदलीय जनवादको प्रभाव भएको सरोकारवालाले बताएका छन् । साथै उनीहरुले माक्र्सवादी दर्शनलाई सिर्जनात्मक स्वरुपमा ल्याउन पनि भण्डारीको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औं स्मृति दिवशको अवसरमा राजनीतिक दलका नेताहरुले सिद्दान्त र नीतिलाई अबलब्बन गर्दा व्यवहारमा पनि देखिनुपर्ने टिप्पणी समेत गरेका छन् । बिहिबार मनाइएको दिवशको अवसरमा नेताहरुले मदन भण्डारीको सिद्दान्तलाई नेपालका कम्प्युनिष्टहरुले अझै पूर्ण रुपमा पालना गर्न नसकेको समेत बताए ।
एमाले बागलुङले आयोजना गरेको नेपालको वर्तमान परिप्रेक्षमा जबजको औचित्य र सान्दर्भिकता बिषयक कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य मनकुमारी केसीले मदन भण्डारी कार्लमाक्र्सको अर्को रुप भएको बताइन् । उनले माक्र्सको सिद्दान्तलाई सिर्जनात्मक बनाएर नेपाली माटो सुहाउँदो कार्यक्रम बनाउन सक्ने नेताको रुपमा भण्डारीलाई चित्रण गरेकी थिइन् ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले विचारमा अवसरबाद र संगठनमा व्यक्तिवाद हाबी भएको टिप्पणी गरे । ‘मदन भण्डारीको सिद्दान्त मान्छु भन्ने तर व्वयहारमा नदेखिने अवस्था छ’ उनले भने, ‘राजनीतिक अवसरबाद बढीरहेकोले सिद्दान्त मान्छु भनेर मदन भण्डारीलाई नै अपमान गरिएको छ ।’ उनले हरेक कार्यकर्ताले जबजको बिषय ज्ञान राखेर सभ्य राजनीति गर्नुपर्ने पनि बताए । ‘म नभए देखाइदिन्छु’ भन्ने नीति बोक्नेबाट संगठन कमजोर हुने उनले बताए ।
उक्त अवसरमा कांग्रेस प्रतिनिधिको रुपमा गएका जिल्ला सदस्य जगन्नाथ आचार्यले भने बिपिको समाजवाद र भण्डारीको जबजमा धेरै समानता रहेको बताए । उनले बहुदलीय प्रतिष्पर्धा, आवधिक निर्वाचन, मानवअधिकार, प्रेस स्वतन्त्रता र शक्ती पृथकीकरणको सिद्दान्तजस्ता बिषय दुइ नेताको मिल्ने स्वभाव भएको बताए । साथै संस्कृत अध्ययन गरेका भण्डारी साहित्यमा पनि रुची राख्ने र बिपिको समेत साहित्य रुचीले दुइ नेताबीच बेलाबेला भेट भएका प्रसंग पनि उनले उठाएका थिए ।
एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता, सचिव गणेश थापाको संचालन र उपसचिव धनबहादुर परियारको स्वागतमा सम्पन्न कार्यक्रममा एमाले गण्डकी प्रदेशका सदस्य तथा उपप्राध्यापक डिल्लीराज गौतमले मदन भण्डारीको जबजको सिद्दान्त र नेपाली राजनीतिक इतिहासबारे प्रस्तुतीकरण गरेका थिए । उक्त प्रस्तुतीकरणमा केन्द्रीय सदस्य डा. सूर्य पाठक, कांग्रेस प्रतिनिधि जगन्नाथ आचार्य, माओवादी नेता ज्ञामनाथ गैरे, नेकपा एसका अध्यक्ष लालबहादुर थापा, राष्ट्रिय जनमोर्चाका सचिवालय सदस्य थानेश्वर सुवेदी, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य चित्र सापकोटा लगायतले मदन भण्डारीको योगदानबारे चर्चा गरेका थिए ।
२०५० साल जेठ ३ गते पोखराबाट चितवन जाँदै गर्दा भण्डारीको जिप दुर्घटनामा निधन भएको थियो । घटनामा आश्रित समेतको मृत्यु भएको थियो । उक्त जिपका चालक अमर लामालाई सशष्त्र द्वन्द्वको क्रममा अज्ञात व्यक्तिले काठमाण्डौंमा गोली हानी हत्या गरेका थिए । भण्डारीको मृत्युलाई अझैपनि रहस्यमा राखिएको छ । बेलाबेला घटनाको छानविन गर्नुपर्ने आबाज उठेपनि अहिलेसम्म अनुसन्धान भने भएको छैन ।





