बागलुङ/आगामी नीति तथा कार्यक्रममा भौतिक विकासका साथै मानवीय र सामाजिक विकासको क्षेत्रमा पनि लगानी बढाउने जिल्लाका स्थानीय तहका अगुवाले निर्णय गरेका छन् । उनीहरुले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनजस्ता क्षेत्रमा लगानी बढाउने, आम नागरिकलाई ती क्षेत्रमा सक्रिय बनाउने समेत निर्णय गरेका हुन् ।
तेस्रो जिल्ला सभाको अवसरमा सहभागि सबै पालिकाका प्रमुख तथा उपप्रमुखले विभिन्न २८ बिषयमा छलफल गरेर साझा निर्णय गरेको समन्वय समितिका प्रमुख अमर बहादुर थापाले बताए ।
बिशेषगरी दुइ वा दुइभन्दा बढी पालिकाको साझा मुद्दामा रहेका काममा साझेदारी गर्ने, बिपद व्यवस्थापनमा सहकार्य गर्ने, रक्त संचार केन्द्र संचालन, यातायातको भाडा कायम, जिल्ला दररेटसँगै पालिका दररेट तत्काल कायम गर्ने, पर्यटनका साझा कार्यक्रम तर्जुमा गर्ने, भवन तथा नक्सापासको काम सबैले समान रुपमा संचालन गर्ने निर्णय गरेका हुन् । कृषि क्षेत्रमा लगानी बढाएमा युवा पलायन रोकिने, उत्पादन वृद्धि भइ आत्मनिर्भर बनन सक्ने कुरामा पनि सहभागिहरु सहमत भएका हुन् ।
बिहिबार बसेको बैठकमा दरमखोलामा निर्माणाधिन जलविद्युत आयोजनाले मध्यपहाडी लोकमार्गमा परेको असरप्रति ध्यानाकर्षण, हाल निर्माणाधिन भएपनि अलपत्र परेको मध्यपहाडी लोकमार्ग छिटो सक्न ध्यानाकर्षण तथा सडक मापदण्डमा बनेका पेट्रोल पम्पहरुको व्यवस्थापन गर्न अहिले देखिनै पहल गर्ने बिषयमा निर्णयहरु भएका हुन् । त्यस बाहेक फोहोरको व्यवस्थापनमा साझा कार्यक्रम संचालन गर्ने, विद्युतीकरण नपुगेका ठाउँमा लैजान पहल गर्ने निर्णय भएको थापाले जानकारी दिए ।
उत्तरगंगा जलासययुक्त जलविद्युत निर्माण,अन्य राजमार्गको सुधार तथा काममा भैरहेको ढीलाइप्रति माथिल्लो निकायमा ध्यानाकर्षण गर्ने, गलुवा पहिरोले दिएको सास्तीप्रति संवेदनशिल बन्ने र नियन्त्रणका लागि पहल गर्ने तथा गण्डकी प्रदेश सरकारले गर्ने रकमको बाँडफाँडमा चासो राख्ने लगायतको बिषयमा समेत छलफल भएको समन्वय अधिकारी कृष्णराज गौतमले जानकारी दिए ।
जिल्ला समन्वय समितिका प्रमुख अमर थापाको अध्यक्षता, समन्वय अधिकारी गौतमको संचालन र उपप्रमुख होमनाथ शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा सबै पालिकाका प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको थियो ।





