बागलुङ/बागलुङ नगरपालिका वडा नं. ८ की १८ वर्षिया दिक्षा थापा ‘भण्डारी’को हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् । काठेखोला गाउँपालिका–१ पालाका सुशान्त थापा र उनकी आमा उजेली थापालाई प्रहरीले पक्राउ गरेको हो । सुशान्त दिक्षाका श्रीमान हुन् । सुशान्तले आमासँग मिलेर श्रीमतीको हत्या गरेको माइती पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
गत जेठ १ गते साँझ पौने ८ बजे दिक्षा आफ्नै घरको दोस्रो तलामा काठको बलोमा सलको पासो घाँटीमा लगाई झुण्डिएको भन्दै श्रीमान सुशान्तले पासो काटेर उपचारका लागि धौलागिरी अस्पतालमा ल्याएका थिए । आमाछोरा मिलेर उपचारका लागि अस्पताल ल्याएको भनिएपनि दिक्षाको आत्महत्या नभई हत्या नै भएको माइती पक्षको दाबी छ । पक्राउ परेका आमाछोरालाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत बागलुङबाट ४ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए ।
जेठ २ गते रातीनै मृतकका बुबा देबेन्द्र बहादुर भण्डारीले कर्तब्य ज्यानमा जाहेरी दिएका थिए । मृतककी आमा कुबेतबाट बागलुङ आईपुगेकी छन् । माइती पक्षले घटनाको निष्पक्ष छानविनको माग गर्दै बालिकाको पोष्टमार्टम गर्न दिएका छैनन् । शवको पोष्टमार्टम गर्न पोखरा पठाउने कि धौलागिरि अस्पतालमै गर्ने भन्नेबारे प्रशासनमा छलफल चलिरहेको छ ।
अहिले पनि धौलागिरी अस्पतालमा दुबै पक्षका आफन्तको भीड लागिरहेको छ । भीडका कारण अस्पातलमा बिरामीले सहज उपचार सेवा पाउन कठिन भएको गुनासो गर्न थालेका छन् । सदरमुकाममा रहेको विद्यामन्दिर माविमा पढ्ने बालिका र काठेखोला गाउँपालिका वडा नं. १ पालाका सुशान्तबीच केही वर्षअघि बिबाह भएको थियो ।





