पोखरा/ जनप्रिय बहुमुखी क्याम्पस पोखराको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्कालाई क्याम्पस प्रमुखमा पदस्थापन गराए । उक्त अवसरमा अध्यक्ष विजुक्छेले विद्यमान चुनौतीलाई पार लगाई क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि काम गर्न सुझाउँदै क्याम्पसको प्रशासनिक र प्राज्ञिक उन्नयनमा लाग्न शुभकामना दिए ।
नवनियुक्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले पदभार ग्रहण गर्दै क्याम्पसको आन्तरिक नीतिनियमलाई चुस्तदुरुस्त र व्यवस्थित बनाई समस्या समाधान गर्ने, विश्वविद्यालय अनुदान आयोगको कामलाई गतिशील बनाउने, शिक्षक कर्मचारीको वृत्ति विकासका लागि ठोस काम गर्ने, त्रिभुवन विश्वविद्यालयबाट नयाँ शैक्षिक कार्यक्रम ल्याउने, क्याम्पसलाई केन्द्रमा राखी जनप्रियको शाख र गरिमा बढाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्न लागी पर्ने बताए । १५ वर्षदेखि अध्ययापनरत उपप्राध्यापक खड्का अर्थशास्त्रका एमफिल हुन् । यसअघि उनी सहायक क्याम्पस प्रमुख थिए ।
२०७९ भदौ २ गते मतदानबाट क्याम्पस प्रमुखमा छनौट भएका लोकराज भण्डारीले स्वाध्ययनका लागि राजीनामा दिएका थिए । क्याम्पस सञ्चालक समितिको जेठ ३ गतेको बैठकको निर्णय र क्याम्पस सञ्चालन सम्बन्धी नियमावली २०५४ को सातौं संशोधन २०७६ को नियमानुसार खड्कालाई निमित्त क्याम्पस प्रमुखमा नियुक्त गरिएको प्रशासक एकनारायण अर्यालले जानकारी दिए ।





