बागलुङ/आगामी २०८२ को चैत मसान्तभित्र बालमैत्री नगर बनाउने गरी जैमिनी नगरपालिकाले शुरुवाती चरणका काम थालेको छ । स्वास्थ्य शाखाका प्रमुख, विद्यालयका प्रअ तथा समुदायका अगुवा, होटल व्यवसायी, सहकारीका अगुवा, विभिन्न क्लब तथा संघसंस्थाका प्रतिनिधिलाई नगरपालिकाले बालमैत्री अवधारणाबारे प्रष्ट्याउने काम थालेको हो ।
शुक्रबार पनि संचारकर्मी, संघसंस्था र सामाजिक अगुवाको उपस्थितिमा बालमैत्री स्थानीय शासन र बालमैत्री अवधारणाका आयामबारे चर्चा गरिएको थियो । नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासनका राष्ट्रिय प्रशिक्षक बिष्णुप्रसाद चैवे सहजीकरण गरेका थिए ।
उनले बाल अधिकारको थालनी, बालअधिकारबारे नेपालमा गरिएका प्रयास, बालमैत्री स्थानीय शासन अबधारणा, हालसम्म भएका क्रियाकलाप, बालमैत्री अभियान सफल पार्न सरोकारवालाले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरे । बालमैत्री नगर घोषणा गर्न ५१ सूचक पुरा गर्नुपर्छ । ती मध्ये शिक्षा क्षेत्रका १४, स्वास्थ्य क्षेत्रका ११ र नगर तथा वडा कार्यालयले १५ सूचक पुरा गर्नुपर्ने बाध्यता छ । त्यस बाहेक विभिन्न संस्थालेपनि सूचक पुरा गर्नुपर्ने छ ।
ती सूचक अधिकांस काम गरिरहेकै अवस्थाका छन् । संस्थाहरुले तथ्यांक राख्ने र अद्यावधिक गर्दै अपुग भएका सूचकमा थप लगानी बढाउनु पर्ने देखिएको चैवेले बताए । ‘बालमैत्री नगर घोषणा हुँदा नगरपालिकाले पाउने अनुदानमा समेत वृद्दि हुन्छ’ उनले भने, ‘सभ्य नागरिकको परिचय दिन पनि सकिन्छ ।’
नेपाल सरकारले आगामी २०८७ साल सम्ममा नेपाललाई नै बालमैत्री देश बनाउने लक्ष राखेको छ । त्यसका लागि घरपरिवार, समुदायदेखि स्थानीय तहसम्मले गर्ने सूचक छुट्टयाइएको छ । बिशेषगरी गर्भवती अबस्थामा महिलाले खोप लगाउने, आइरन चक्की खानेदेखि सुरक्षित र स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने सूचक समेत उल्लेख छन् । पोषणयुक्त खानेकुरा, नियमित गर्भजाँच तथा स्वास्थ्य संस्थामा पर्याप्त उपकरणसहित सुत्केरी सेवा दिने बिषय पनि बालमैत्री अभियानमा जोडिएको हो ।
यो अभियान पुरा गर्न वडा तहमा बालमैत्री वडा घोषणा समन्वय समिति गठन गर्ने, विद्यालय तथा समुदायमा बालक्लब संजाल गठन गर्ने, नियमित बैठक बस्ने, बालमैत्री संरचना निर्माणमा साथ र सहयोग गर्ने जस्ता काम थाल्नुपर्ने कानूनी बाध्यता छ । ‘हामीले कतिपय पूर्वाधार निर्माणमा यो अभियान थालिसकेका छौ, अब औपचारिक रुपमा पूर्णता दिएर जाने पक्षमा छौं’ नगर उपप्रमुख हरिहर शर्माले भने, ‘बालमैत्रीका सबै सूचक पुरा गरेर छिटै घोषणामा पुग्छौं ।’
त्यस बाहेक बालमैत्री नगरका लागि पूर्वाधारजन्य क्षेत्रमा सुधार, हरेक नागरिकले पिउने पानी शुद्द हुनुपर्ने, नभएमा शुद्धिकरणका अभियान थाल्नुपर्ने सूचकमा उल्लेख छ । त्यस्तै निकृष्ठ श्रममा लगाउन नहुने, बालबालिकालाई पढ्ने अवसर दिनुपर्ने, २० वर्षभन्दा कम उमेरमा बाल बिबाह निरुत्साहित गर्नुपर्ने जस्ता विषय पनि समावेश छन् । ती सूचक पुरा गरेर तोकिएको समयभित्र नगरपालिकालाई बालमैत्री बनाउने नगरप्रमुख नरबहादुर पुनले बताए । उनले यो अभियानमा सबै क्षेत्रको साथ र सहयोग चाहिएको समेत बताए । सबै जनप्रतिनिधि, कर्मचारी र अभिभावक मिल्दा यो अभियान सफल हुने उनको भनाइ छ । होटलमा बालश्रम नराख्ने, पढ्ने लेख्ने अवसर सिर्जनामा साथ दिने काम सबैले आजैदेखि थाल्नुपर्ने समेत उनले सुझाए । यो अभियानको संयोजकको रुपमा शिक्षा अधिकृत मिरादेवी शर्मा तथा महिला तथा बालबालिका शाखा प्रमुख देवी बिक सुनारलाई विभागीय कामको जिम्मा लगाइएको नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले बताए ।





