बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बिपत जोखिम न्युनिकरणमा संयुक्त पहल गरिने

बिपत जोखिम न्युनिकरणमा संयुक्त पहल गरिने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०८१, सोमबार

बागलुङ/बर्षात लागेपछि हुन सक्ने बिपत जोखिम न्युनिकरणका लागि जिल्लामा विभिन्न संरक्षणका योजना संचालन गर्न सबै स्थानीय तह र जिल्ला समन्वय समितिको संयुक्त पहल गर्ने निर्णय गरेको छ ।
तेस्रो जिल्ला सभाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले साझा पहल गरेर सबैखाले समस्या समाधान गर्ने निर्णय भएको जानकारी दिए । बिशेषगरी रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत ती योजनाहरु पुरा गर्ने लक्ष समेत उनले सुनाए ।
बागलुङ कुश्मीसेरा सडक खण्डको एक्लेसाल पहिरो नियन्त्रणदेखि पछिल्लो समय डोजरको प्रयोगले सुक्दै गएका तालतलैया संरक्षणका कार्यक्रममा उक्त योजना जोड्ने लक्ष राखिएको हो । ‘छिमेकी पर्वत र म्याग्दीमा केही संरक्षणका कार्यक्रम संचालन भएका रहेछन्, हामीले पनि ती कार्यक्रम संचालन गर्ने लक्ष राखेर निर्णयमा पुग्यौं’ थापाले भने, ‘बिपतको जोखिम क्षेत्रमा संरक्षणका कार्यक्रम नगरे जिल्लामा क्षति पुग्ने सबैको साझा बुझाइ बनेको छ ।’
त्यस बाहेक समन्वय समितिले जिल्लाभित्र चल्ने सवारी साधनले मनोमानी भाडा असुल गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । कालोपत्रे भैसकेका सडकमा पनि महंगो भाडाको गुनासो आएपछि केही समयअघि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा यातायात व्यवस्था कार्यालय, जिल्ला समन्वय समिति, यातायात व्यवसायी रहेको सिफारिस समिति गठन भैसकेकोले सो समितिले दिने राय बमोजिम भाडा कायम गर्न सबै सहमत भएको समन्वय अधिकारी कृष्णराज गौतमले बताए ।
जिल्लामा हुने र भैरहेका विकास निर्माणमा आएका अबरोध, दु्ई वा दुईभन्दा बढी पालिका मिलेर गर्न सक्ने काम जस्ता बिषयमा समितिले पहल गरेको छ । साथै, भौतिक विकास जस्तै मानवीय विकास, कृषि, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा लगानी बढाउने निर्णय समेत सभाले गरेको थियो । आगामी बजेटमा पालिका तहबाट पनि ती क्षेत्रमा बजेट बढाउनुपर्ने सभाले ध्यानाकर्षण गरेको थापाले जानकारी दिए ।
जिल्ला दररेटसँगै पालिका दररेट तत्काल कायम गर्ने, अवैध रुपमा चलेका क्रसरहरु नियमन गर्ने, कालीगण्डकी र ग्रामीण क्षेत्रका खोलाको बालुवा मूल्य एकैनासको राख्दा ठेक्कामा नजाने समस्या भएको पालिका अध्यक्षहरुले राखेको बिषयमा पनि आफ्नो स्थानीय मूल्य कायम गर्न लगाउने बिषयमा पहल भएको हो ।
गत बिहिबार बसेको बैठकमा दरमखोलामा निर्माणाधिन जलविद्युत आयोजनाले मध्यपहाडी लोकमार्गमा परेको असरप्रति ध्यानाकर्षण भएको, हाल निर्माणाधिन भएपनि अलपत्र परेको मध्यपहाडी लोकमार्ग छिटो सक्न ध्यानाकर्षण तथा सडक मापदण्डमा बनेका पेट्रोल पम्पहरुको व्यवस्थापन गर्न सम्बन्धित निकायमा लेखी पठाउने निर्णय भएको समेत बताइएको छ । पत्रकार सम्मेलनको संचालन सूचना अधिकारी दुर्गाप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->