बागलुङ/दश वर्ष अघिसम्म सपनाजस्तै लाग्ने कालीगण्डकी करिडोर अहिले राजमार्ग जस्तै बनिसकेको छ । कुनैबेला सडक आउनेबारे कल्पना समेत नगरेका जैमिनी नगरपालिका ८ का ओमकार थापाको अहिले करिडोरमै जोडिएको घर छ । उनी सदरमुकाम आइपुग्ने समयमा पाल्पासमेत पुग्न सक्ने भएका छन् ।
उनी मात्र हैन जैमिनी ५ का अध्यक्ष कृष्णबहादुर थापाले त बुटवल जानुपरे करिडोर नै रोज्न थालेको बताए । सदरमुकाम आएर बुटवल पुग्न लाग्ने खर्चको आधा कम मूल्यमा कुश्मीसेराबाट जाने बसले बुटवल पु¥याउने गरेको छ । जसको कारण खर्च र समय बचत हुने गरेको थापाले बताए ।
नेपाली सेनाले ट्रयाक खोलेपछि सडक विभागले बागलुङको मालढुंगादेखि गुल्मीको रिडी सडक कालोपत्रेका लागि ठेक्का लगाएको छ । ८० किमी सडकमध्ये केही खण्ड कालोपत्रे भैसकेको छ भने जैमिनी नगरको खण्डमा कालीका कन्स्ट्रक्सनले काम गरिरहेको छ । उसको काम को गति हेर्दा छिटै कालोपत्रे गर्ने संभावना छ ।
करिडोर निर्माणाधीन छ । तर, नियमित बस संचालनमा आउन थालेका छन् । १ सय ५० किमी यात्रा गरेर मात्र पोखरा पुगिने बाध्यता अहिले जैमिनीबासीको घटेको छ । बरु त्यतिनै दुरी यात्रा गर्दा उनीहरु बुटवल पुग्छन् । बुटवल पुग्न सकेपछि उनीहरुले उपचार मात्र हैन, फर्कंदा गाउँको व्यवसायका लागि सामान पनि ल्याउन सक्छन् । यो क्षेत्रका धेरै मानिस बुटवल, भैरहवा र कपिलबस्तुमा बसाइ सरेका छन् । अधिकांशले आफन्तको नजिक पुग्नका लािग पनि यो बाटो तय गर्न थालेका हुन् । बुटवलमा तुलनात्मक रुपमा सामान पनि सस्तो पाउने स्थानीयले बताए ।
कालीगण्डकी करिडोरले बुटवललाई यति छोटो दुरीमा पु¥याएपछि यात्रा गर्नेहरु बढेका छन् । बाटो कालोपत्रे भएसँगै बागलुङको जैमिनी, बलेवा र बरेङबासीको दैनिकी बुटवल र पाल्पातर्फ नजिक बनेको छ । त्रिदेशीय मार्गको रुपमा करिडोर स्थापित भैसकेकोले भारतको सिमाना पुगेर व्यापार गर्न अब छोटो बाटो तय भैसकेको जैमिनी १ की पुष्पा आचार्यले बताइन् ।
करिडोरले जैमिनीसंगै गुल्मीको कालीगण्डकी गाउँपालिका, पर्वतको बिहादी र फलेवास नगरबासीलाई पनि सहज बनाएको छ । ‘बुटवल पढ्न गएका छोरीहरु बिहानको खाना खानै आइपुग्छन,्’ पर्वतको बिहादीका हरि न्यौपानेले भने, ‘करिडोरले सदरमुकाम र बुटवल उस्तै बनाएको छ ।’ करिडोरले ४ सय १७ किमीमा चीन र भारत जोड्ने त्रिदेशीय मार्ग निर्माण गरेको छ । करिडोरअन्र्तगत गुल्मी र बागलुङ खण्डको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो ।
जैमिनी १ देखि गुल्मीको हर्मीचौर ४५ किमी सडक कालीका कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । आगामी २०८२ को मंसिर मसान्तसम्म सकिनुपर्ने कामको एक वर्षमै ५० प्रतिशत पूरा भएको करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर सुरेन्द्र गौतमले बताए । ‘हामीले काम गरिसकेको ६० करोड भुक्तानी दिनै बाँकी छ, तर ठेकेदार कम्पनीले समयमा काम सक्ने लक्ष बनाएको छ’ गौतमले भने, ‘यो गतिमा काम भए समय अघिनै सकिन्छ ।’ ३ अर्ब ३३ करोडमा लगाइएको ठेक्काको खण्डमा नाली, पर्खाल, पुल र कजवेहरु बनिसकेका छन् ।
गुल्मीको कालीगण्डकी गाउँपालिकाका भागिरथ न्यौपानेले त आफ्नो जीवनमा अनौठो परिवर्तन देखेको बताए । करिडोरमा सेनाले दर्जन बेलीब्रिज बनाएको छ । ती पुल बिस्थापित गर्न करिडोर आयोजनाले विभिन्न स्थानमा ठेक्का लगाएको छ ।





