बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. १ खहरेकी ‘बागलुङ ६’ को शंकास्पद मृत्युको विषयलाई लिएर शुरु भएको आन्दोलन मंगलबार पनि जारी छ । ‘बागलुङ ६’ को आत्महत्या नभई हत्या गरिएको भन्दै आफन्त र अधिकारकर्मीहरुले प्रहरीलाई दबाब दिन सात दिनदेखि निरन्तर आन्दोलनलाई जारी राखेका छन् ।
घटनामा संलग्न भएको आरोपमा चार जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान विवरण सार्वजनिक गरेपनि पीडित पक्षको आन्दोलन मत्थर हुन सकेको छैन । ‘बागलुङ ६’ का आफन्त र अधिकारकर्मीहरुले सोमबार बागलुङ बजार बन्द गराएका छन् । बिहान ११ देखि २ बजेसम्म गरिएको बन्दले सवारी आवागमन ठप्प बनेको छ । बन्दले सदरमुकाम बागलुङ बजारबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प हुँदा यात्रुहरु अलपत्र परेका छन् ।
आन्दोलनकारीले नाराबाजीसहित बजारका पसल बन्द गराउँदै हिंडेपछि बागलुङ बजार अहिले सुनसान बनेको छ । ‘बागलुङ ६’ को न्यायका लागि आन्दोलनमा रहेका महिलाहरुले जेठ दुई गते यता सडकमा नाराबाजी गरिरहेका छन् । परिवार र सरोकारवालाले भिसेरा रिपोर्ट नआउने बेलासम्म शव बुझ्न मानेका छैनन् । मृतकको शव एक सातादेखि धौलागिरी अस्पतालमा राखिएको छ ।
‘बागलुङ ६’ को कोठाबाट प्रहरीले दुईपन्ने सुसाइट नोट समेत फेला पारेका छ । सोही नोटका आधारमा शंकास्पदलाई पक्राउ गरेको प्रहरीले पीडितका आफन्तलाई प्रहरी अनुसन्धानमा सहयोग गर्न आग्रह समेत गरेको छ । ‘बागलुङ ६’ को प्रारम्भिक पोष्टमार्टम रिपोर्टमा आत्महत्या गरेको उल्लेख भएपनि थप जाँचका लागि प्रहरीले भिसेर विधिविज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको छ । भिसेरा रिपोर्ट आएपछि ‘बागलुङ ६’ को शंकास्पद मृत्युबारे थप रहस्य खुल्ने प्रहरीले जनाएको छ ।






