पोखरा/ पोखरा महानगरका विद्यालय र क्याम्पसमा न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिको संबैधानिक ब्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले ‘न्यायिक समितिसंग विद्यार्थी’ कार्यक्रम सञ्चालन गरेको छ ।
महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब गण्डकीको आयोजनामा पोखराको नदिपुरमा रहेको कन्या क्याम्पसका छात्राहरुलाई न्यायिक समितिको बारेमा जानकारी गराइएको हो । स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको व्यवस्था र यसले निरुपण गर्ने विवादका विषयमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुुदेवी गुुरुङले बताइन ।

कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख गुुरुङले स्थानीय तहका विवाद स्थानीय तहबाटै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना संविधानमा गरिएकाले नागरिकलाई यसको बारेमा जानकारी गराउन वार्षिक कार्यक्रममा समावेश गरेर सञ्चालन गरिएको जनाइन । नागरिकले सहज र सरलरुपमा न्याय पाउन अवस्था सृजना होस् स्थानीय विवादहरु अदालतमा पुुग्नुपर्ने अवस्था नआओस भन्नका लागि न्यायिक समितिको परिकल्पना गरिएको बताउदै उनले भनिन, ‘समय र पैसाको बचतका लागि र स्थानीय विवाद मेलमिलापमार्फत समाधान गर्ने उद्देश्यले न्यायिक समितिको व्यवस्था गरिएको हो । यसका बारेमा महानगरका नागरिकले जानकारी पाउनुपर्छ भन्ने मान्यताले कार्यक्रम सञ्चालन गरिएको हो ।’ कन्या क्याम्पसका क्याम्पस प्रमुुख सुरेन्द्र मानन्धरले विद्यार्थीले कानुुनका विषयमा समेत जानकारी राख्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालनका लागि छनोट गरेकोमा खुशी ब्यक्त गदै आगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिको गठन प्रक्रिया, न्यायिक समिति सदस्य रजनी परियारले अधिकार क्षेत्र र न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोम लम्सालले मेलमिलापकर्ताको योग्यता बारेमा प्रशिक्षण दिएका थिए ।





