पोखरा/ पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ (प्लस टु) मा सौन्दर्य तथा केश कला विषयको पढाइ सुरु गर्ने भएको छ । यसका लागि आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रिया पूरा गरी आउँदो कक्षा ११ को नयाँ भर्नाबाट यस विषयको कक्षा सञ्चालन गर्ने विद्यालयले जनाएको छ ।
विद्यालयले आज पत्रकार सम्मेलनमार्फत यस विषयको कक्षा ११ मा १०० पूर्णाङ्क र कक्षा १२ मा १०० पूर्णाङ्क गरी जम्मा २०० पूर्णाङ्कको पठनपाठन हुने जनाएको हो । पाठ्यक्रम ५० पूर्णाङ्क प्रयोगात्मक र ५० पूर्णाङ्क सैद्धान्तिक प्रकृतिको भएकाले विद्यार्थीले प्रयाप्त मात्रामा सिप हासिल गर्न सक्ने दवी विद्यालयको छ । व्यवस्थापन सङ्कायअन्तर्गत पठनपाठन हुने भएकाले यस सङ्कायमा लाग्ने शुल्कका अतिरिक्त यस विषयको अध्ययन गर्ने विद्यार्थीका लागि थप प्रयोगात्मक शुल्क २४ हजार लाग्ने प्राचार्य सरोज कोइरालाले बताए ।
सौन्दर्य तथा केश कला विषय संस्थागत विद्यालयमा पोखरामा पहिलो पटक सञ्चालन हुन गइरहेको उनले जनाए । यसका लागि आवश्यक जनशक्ति र सुविधासम्पन्न प्रयोगशालाको व्यवस्था गरिएको छ । यस विषयमा जानकारी, विषयको महत्व तथा यस विषयभित्र पठनपाठन हुने विषय क्षेत्रका बारेमा पूर्व जानकारी दिने उद्देश्यले विद्यालयले आइरिस हेयर एण्ड ब्युटी केयर प्रालिसँगको सहकार्यमा यही जेठ १५ देखि देखि ५० जनालाई एक हप्ते सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निशुल्क तालिम सञ्चालन गर्ने विद्यालयले जनाएको छ ।
वि. सं.. २०४९ मा स्थापना भएको पश्चिमाञ्चल माध्यमिक विद्यालयमा हाल नर्सरीदेखि १२ कक्षासम्मका कक्षा सञ्चालन भइरहेका छन् । हालसम्म कक्षा ११ र १२ मा व्यवस्थापन, होटल व्यवस्थापन, विज्ञान, मानविकी र कानुन विषयको अध्ययन अध्यापन हुँदै आइरहेको छ । पोखरामा फस्टाउँदै गएको ब्युटिसियन व्यवसाय, यसप्रति रुचि राख्ने युवा पुस्ता, स्वदेशमै बसेर केही गरौं भन्ने चाहना राख्ने तथा सिप सिकी रोजगारीका लागि विदेश जान चाहनेहरूका लागि समेत यो विषय छनोट हुनेमा विश्वस्त रहेको विद्यालयको भनाई छ ।
ब्युटिसियन व्यावसायिक, सिपमूलक र व्यवहारोपयोगी विषय हो । यो आम मानिससँग सम्बन्धित व्यवसाय हो । यो व्यवसाय पछिल्लो समयमा निकै फस्टाइरहेको छ । अहिले ब्युटिसियनलाई व्यावसायका रुपमा अँगालेर हजारौं मानिसहरूले रोजगारी प्राप्त गरिरहेका छन् । यो सिप सिकेर थुप्रैले देश तथा विदेशमा रोजगार प्राप्त गर्नुका साथै अन्य थुप्रै मानिसलाई समेत रोजगारी प्रदान गरिरहेका छन् । यो पुरुष तथा महिला दुवैले अँगाल्न सक्ने पेसा हो । सौन्दर्यको ज्ञान महिलालाई मात्र नभई पुरुषलाई पनि उत्तिकै आवश्यक छ । विभिन्न मुलुकमा यही पेसालाई व्यवसाय बनाएर युवायुवतीले पर्याप्त कमाइ गरिरहेको भन्दै विद्यालयले यो विषय छनौट गरेको जनाएको छ ।





