बागलुङ/नगर खानेपानीको अध्यक्षमा निर्वाचित भएको ६ महिना नपुग्दै अध्यक्ष केवी राना मगरले राजिनामा दिएका छन् । उनले काम गर्ने वातावरण नभएको भन्दै पदबाट राजिनामा दिएको बताए । कार्यसमितिबाटै असहयोग भएको उनको भनाइ छ ।
कोषाध्यक्ष कृष्ण शर्माप्रति उनको बढी रोष छ । राजिनामा पत्रमा उपाध्यक्ष हरिबहादुर जिसी सन्तोषलाई सम्बोधन गरेर बुझाइएको छ । बहुमतले गरेको निर्णयबाट काम कार्यान्वयन गर्दा लागेको खर्च पास गर्न पनि कोषाध्यक्षले अबरोध गरेको उनले बताए ।
रानामगरका अनुसार अहिले पनि २० वटाभन्दा बढी बिल भुक्तानी भएको छैन । प्राविधिक नियुक्तीका लागि खानेपानी डिभिजनमा नियुक्ती प्रक्रियाको प्राविधिक सहयोगको लागि आग्रह गरेकोमा परीक्षाको पारिश्रमिक दिन पनि आनाकानी भएको उनले बताए । ‘बहुमतको निर्णयमा पनि विश्वास नगर्ने, रकमको भुक्तानी नहुने भएपछि पदमा बस्न उपयुक्त लागेन’ उनले भने, ‘नगरपालिकाबाट पूर्ण सहयोग पाउँदा आफ्नै समितिमा असहयोग भयो ।’ अध्यक्षले आर्थिक अधिकार नपाएपछि राजिनामा दिनुको विकल्प नभएको उनले बताए ।
रानाले नयाँ कार्यालय सार्दा फर्निचर खरिदमा पनि टिप्ण्णी आएको थियो । कोषाध्यक्षले हस्ताक्षर नगरेको चर्चा भैरहेको बेला यो राजिनामा आएको हो । खानेपानी उपभोक्ता संस्थामा स्थायी कर्मचारीले १४ महिनाको तलब खाएकाले घटाउनुपर्ने बिषयमा पनि चर्चा भएकोमा खाइपाइ आएको तलब घटाउन नमिल्ने, बरु अन्य खर्च कटौती गर्ने, हरेक दिन बिहान साढे ९ बजे अफिस संचालन गर्ने र सार्वजनिक बिदा कटौती गरेर काम गर्ने वातावरण बनाएको रानामगरले दाबी गरे ।
आन्तरिक कारणले नै नगरबासीलाई चौबिसै घण्टा सफा पानी खुवाउने, छिटोछरितो सेवा दिने काममा अबरोध भएको उनको टिप्पणी छ । समाजसेवा जस्तो काममा पनि मतभिन्नता सहन नसकेको रानामगरले बताए । उपाध्यक्षलाई राजिनामा दिएको भन्दै उपाध्यक्ष जिसी समेत निरास भएको बताए । उपाध्यक्ष जिसीले पनि पत्र आएको जानकारी दिए । त्यसबारे थप छलफलपछि मात्रै अन्य कुरा बताउन सकिने धारणा राखेका छन् ।
कोषाध्यक्ष कृष्ण शर्माले भने नियम बिपरितका बिल भरपाईमा हस्ताक्षर गर्न नसक्ने बताए । ‘कतिपय बिल भरपाई प्रबन्धकले समेत सही गरेको छैन भने मैले कसरी सक्छु ?’ शर्माले भने, ‘अत्यावस्यक काममा सहयोग गरिएकै छ, नहुने काममा नियम संगत गर्नुपर्छ ।’ शर्माले कार्यालय सार्दा ल्याइएको फर्निचरको बिषयमा पनि चासो राखे । उनले प्रबन्धकले सही नगरेको बील भरपाई आँफूले सदर गर्न नसकेको दाबी गरेका छन् ।
रानाको राजिनामाले नगर खानेपानीमा अझै अन्यौल हुने चिन्ता बढेको छ । रानाले तत्कालिन तदर्थ समितिका अध्यक्ष जयराम भारीलाई पराजित गरेर अध्यक्ष निर्वाचित भएका थिए । खानेपानीको समस्या बढ्नुमा नेतृत्वको समेत लापरबाही भएको भन्दै यसअघि आरोप लाग्थ्यो । राना आएपछि शुद्द पानी खान पाउने बजारबासीले आस गरेका थिए ।





