बागलुङ / जिल्लाको बागलुङ नगरपालिका-१४ नारायणस्थानको सार्वजानिक जग्गामा स्थानीय नेताले घर बनाएर वसेका छन् । ३१ वर्षदेखि सार्वजनिक जग्गा मिचेर बनाएको नेताको घर जोगाउन अहिले नेपाली काँग्रेसले पार्टीको झन्डा टाँगेको छ । नगरपालिकाले सूचना जारी गरेर सार्वजनिक जग्गा मिचेर बनाएको घर भत्काउन भनेपछि नेपाली काँग्रेसले ती नेताको घर जोगाउन पार्टीको झन्डा टाँसेको हो ।
काँग्रेसका पार्टीका वडा सभापति रहेका हरि कुमार श्रेष्ठले नारायणस्थानको सार्वजनिक बाटो र सँधियारको जग्गा मिचेर घर बनाएका हुन् । सार्वजनिक जग्गामा बन्दै गरेको अवैध संरचनाका विषयमा स्थानीयले ३१ वर्षअघि उजुरी गरे पनि राजनीतिक पहुँचका आधारमा अहिलेसम्म कुनै कारबाही हुन सकेको छैन ।
स्थानीय स्तरमा शक्तिशाली नेताको रूपमा चिनिने श्रेष्ठले उजुरी गर्नेलाई धाकधम्की दिने तथा एक सँधियार महिलालाई सार्वजनिक जग्गा लुट्न रोकेको भन्दै उतिबेलै कुटपिट समेत गरेको स्थानीय कलावती सुवेदीको भनाई छ ।
घर बनाउने समयमै नाप जाँच गर्दा सार्वजनिक जग्गामा परेको देखिएपछि यसलाई रोक्नका लागि तत्कालीन जिल्ला प्रशासन अधिकारीले निर्देशन दिएका थिए । तर, राजनीति पहुँचका आधारमा स्थानीयलाई धम्काएर प्रशासनको निर्देशन अवज्ञा गरेका श्रेष्ठलाई जोगाउन स्थानीय काँग्रेस नेतृत्व नै लागेको थियो ।
तत्कालीन अवस्थामा काँग्रेसका तर्फबाट जितेका गाविस अध्यक्ष, उपाध्यक्ष तथा स्वयं श्रेष्ठ वडाध्यक्ष भएकाले स्थानीयको केही चलेन । त्यसपछि पनि धेरै पटक नापी नक्सा भएका छन् । हरेक पटक भएका नापी नक्सामा श्रेष्ठले सार्वजनिक जग्गा कब्जा गरेको देखिए पनि उनले कसैले केही गर्न नसक्ने भन्दै धम्काएर फर्काउने गरेका छन् ।
केही समय अगाडि बागलुङ नगरपालिकाले सोही स्थानमा नापीको टोली पठाएर नापजाँच गरेको थियो । नाप जाँचका क्रममा काँग्रेसका नेता श्रेष्ठको घर पुरै सार्वजनिक जग्गामा परेको बागलुङ नगरपालिकाका अमिन राम प्रसाद शर्माले जानकारी दिएका छन् ।
श्रेष्ठको घर भएको कित्ता नं. ८८८ को जग्गा उनको नाममा दर्ता भएको लालपुर्जा र नक्साका आधारमा मोहडा ३ मिटर ५० सेन्टिमिटर मात्रै छ । तर, घर बनाउँदा अर्को ४ मिटर सार्वजनिक जग्गा र पिछाड १२ मिटर हुनुपर्नेमा १९ मिटर बनाएर सार्वजनिक जग्गा कब्जा गरेको देखिएको अमिन शर्मा बताए ।
मोहडामा ४ मिटर र पिछाडमा ११ मिटर सार्वजनिक जग्गा लुटेर घर बनाएका नेताले संधियारलाई थाहै नदिई स्थानीय काँग्रेसका नेता जनप्रतिनिधि र नगरपालिकालाई समेत प्रभावित गरि आफ्नो घरको एकतर्फ ६ मिटर र अर्कोतर्फ ८ मिटरको बाटो खनेका छन् ।
छिमेकीलाई थाहै नदिई बल र पहुँचका आधारमा आफूले सार्वजनिक जग्गामा घर बनाउने र जग्गाधनीको सहमति विपरीत छिमेकीको मूल्यवान् जग्गाबाट एकतर्फी बाटो खनेर अन्यायपूर्ण काम भएको स्थानीयको आरोप छ ।
सार्वजनिक जग्गा लुटेरा श्रेष्ठको काँग्रेसका माथिल्ला नेतासम्मै पहुँच भएकाले स्थानीय जनप्रतिनिधि समेत यसमा खुलेर बोल्न सकेका छैनन् ।
श्रेष्ठको ज्यादतीका विरुद्ध स्थानीय सरकार मौन रहेको भन्दै स्थानीय सर्वसाधारणले नगर कार्यपालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत गरेका छन् । तर, स्थानीय कार्यपालिकाले पीडितलाई न्यायको साटो सार्वजनिक जग्गा लुट्ने अपराधीलाई नै प्रश्रय दिएको धेरैको गुनासो छ ।
वडा अध्यक्ष चक्र बहादुर खत्रीले आफुले सार्वजनिक जग्गा लुट्नेलाई संरक्षण नगरेको बताउछन् । काँग्रेसका पार्टी अध्यक्षको घर सार्वजनिक जग्गामा रहेको विषय नगरपालिकाले लिएको नापीले समेत स्पष्ट पारेको देखिएको छ ।
नापी टोली र स्थानीय व्यक्तिहरूको उपस्थितिमा भएको नापीका बेला श्रेष्ठले समेत आफ्नो घर सार्वजनिक जग्गामा बनाएको स्विकारेका छन् । तर, श्रेष्ठले आफ्नो बस्ने बास नभएकाले जोगाइदिन गरेको अपिललाई इन्कार गर्न सक्ने अवस्था नभएकाले के गर्ने भन्ने विषयमा आफुले नगरपालिकासँग परामर्श थालेको नगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष खत्रीले बताए ।
श्रेष्ठलाई चिन्ने स्थानीयले भने वडाध्यक्ष खत्रीले भनेजस्तै बास नभएर भन्दा पनि हरि कुमार श्रेष्ठले काँग्रेसको राजनीतिक पहुँचलाई प्रयोग गरेर स्थानीयको विरोधका बीचपनि सार्वजनिक जग्गा आफ्नै नाममा कायम गराउने तयारी गरिरहेकाले जग्गा फिर्ता गराएर दण्डित गर्नुपर्ने माग गरेका छन् ।
गाउँमा राजनीति गरेर पहुँच बढाउने र पहुँचका आधारमा सार्वजनिक जग्गा हडप्ने श्रेष्ठसँगै अन्य पनि यस्ता कार्यमा सामेल भएकाले उनीहरू काँग्रेस नेताले लुटेको जग्गा फिर्ता गर्दा आफ्नो जग्गा समेत खोसिने डरले यो विषयमा श्रेष्ठलाई जोगाउने पक्षमा लागेको स्थानीयको आरोप छ ।
सार्वजनिक जग्गा लुट्नेहरूलाई काँग्रेसले संरक्षण गरेकाले नारायणस्थानमा सार्वजनिक जग्गा लुट्ने क्रम बढेको स्थानीयको आरोपका विषयमा नेपाली काँग्रेस बागलुङका सभापति जीत शेरचनले वडासभापति श्रेष्ठको घर सार्वजनिक जग्गा मिचेर बनेको सुनेपनि यसको आधिकारिता पुष्टि नभएकाले केहि नबोल्ने भन्दै फोन राखेका छन् ।
घरेलु मदिरा उत्पादन गरेर बेच्ने गरेको काँग्रेसका वडासभापति श्रेष्ठकहाँ नेपाली काँग्रेसका जिल्ला तथा केन्द्र तहका नेताहरूको आउजाउ हुने गरेको छ । माथिका नेताहरुको सोही सम्वन्धलाई आधार बनाएर मदिरा पिएका बेला छिमेकमा धाकधम्कीसहित आक्रमणमा उत्रिने श्रेष्ठका ज्यादतिविरुद्ध गाउँलेको धेरै गुनासो छ ।
केहिवर्षअघि कुमालटारी भन्ने स्थानमा कुलो जोगाउन जिल्लाबाट सरकारी अनुदानमा आएका ग्याबिन जाली श्रेष्ठले आफ्नो घरको तारबार गर्न प्रयोग गरेका छन् । उपभोक्ता समितिको अध्यक्ष भएका बेला कुलो जोगाउन भन्दै तत्कालीन जिल्ला विकास समितिले दिएका तार जाली समेत आफ्नै घरमा तारबार गरेको भन्दै स्थानीयले काँग्रेस नेता श्रेष्ठबिरुद्ध उजुरी समेत दिएका थिए । तर, राजनीतिक संरक्षणका कारण उनलाई कुनै कारबाही भने भएन । आज पनि उनले कुलोका लागि आएका तारजालीले घरको पर्खाल बनाएको फोटोमा देख्न सकिन्छ ।





