बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धान फल्ने खेतमा धमाधम केराखेती

धान फल्ने खेतमा धमाधम केराखेती

जैमिनी नगरपालिकाले केरा पकेट बिस्तार कार्यक्रमअन्तर्गत कृषि निर्देशनालयको सहकार्यमा ‘नाफा परियोजना’ थालेको छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०८१, शुक्रबार

बागलुङ/जैमिनी नगरपालिका–१ कुश्मी गाउँका ७२ वर्षीय देवनारायण शर्मालाई हिजोआज केराका बिरुवा खेतमा पुर्याउने चटारो छ । घर परको खेतमा केराका बिरुवा लगाउन खेताला लगाईएको छ । दैनिक ४ जना खेतालाले खाडल खन्छन्, घरकै मल खाडलमा भर्छन् र केराका बिरुवा लगाउँछन् । उनको ८ रोपनी जमिनमा सयौं केराका बोट छन् । २५ रोपनी जमिनका मालिक शर्माले बाँकी खेतमा खेरा लगाउने योजना बनाएका छन् ।
यो वर्ष मात्रै शर्माले २ हजार ३ सय ५० केराका बिरुवा लगाई सके । अघिल्ला वर्षहरुमा ८ रोपनी जग्गामा लगाएका बोटले वर्षेनि आम्दानी दिइरहेका छन् । केही वर्ष अघिसम्म कयौं दिन लगाएर रोपाईं हुने खेत जनशक्तिको अभावमा बाँझै थियो । अहिले केराको बगैंचा बनेका छन् । ‘छोराछोरी घरमा छैनन्, खेतालै हालेपनि घाटा नहुने भएकाले केरा खेती गर्न लागेको हुँ,’ शर्माले भने ‘खेत र पाखाभरी केराको बगान बनाउने योजना छ ।’
शर्मा मात्रै होइन, कुश्मीगाउँका अधिकांश किसान धान फल्ने खेतमा केरा लगाउन थालेका छन् । कुश्मीगाउँकै धर्मराज शर्मा, वडारका खेम पौडेल, टारका पूर्ण प्रसाद शर्माले धान फल्ने खेतमा केराखेती थालेका छन् । कुश्मीशेराका अधिकांश किसानको खेतबारीमा धेरै थोरै केराका बोट छन् । केराबाट राम्रो आम्दानी गरिरहेका किसानको उन्नति देखेर अरुले सिको गर्न थालेका छन् । ‘धान रोप्दा उत्पादनले खेताला नथेग्ने अवस्था भो, बीउमल उस्तै महंगो’ टार गाउँका पूर्णप्रसाद शर्माले भने ‘वर्षमा एक महिना सुसार गरे वर्षभरी उत्पादन दिन्छ ।’
केरा खेती बिस्तारका लागि वडा कार्यालयले किसानलाई प्रोत्साहित गरिरहेको छ । चालु आर्थिक वर्षमा केराका बिरुवा रोप्ने किसानका लागि प्रतिबिरुवा २० रुपैयाँ अनुदान उपलव्ध गराउने जैमिनी नगरपालिका–१ कुश्मीशेराका वडा अध्यक्ष बिष्णु आचार्यले बताए ।
स्थानीय र बागलुङ तथा कुश्मा बजार कुश्मीशेराका केराको बजार हो । यहाँका झण्डै एक सय किसानलाई अन्य कृषि पेशासहित केराखेतीमा पनि जोडिएको आचार्य बताउँछन् । यहाँका अधिकांश किसानले वर्षमा ५० हजारदेखि ४ लाख रुपैयाँसम्म कमाउने गरेको कृषि प्राविधिक रवीन्द्र शर्मा बताउँछन् । समुन्द्री सतहबाट ६ सय मिटर उचाइमा रहेकोले जैमिनीघाट र कुश्मीसेरा केराखेतीका लागि अति उपयुक्त स्थान हो । कृषि ज्ञान केन्द्र बागलुङले पनि यो क्षेत्रलाई केराको पकेट मानेको छ । यो वडा कालीगण्डकी करिडोर र बागलुङ कुश्मीसेरा सडकमा जोडिंदा बजारीकरणमा सजिलो छ । ‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी ९’ जातका केरा यहाँ सिफारिसमा रहेको शर्मा बताउँछन् ।
स्थानीय जातको केरा छिटो बिग्रदैन । त्यसैले अन्यत्र जाँदा कोसेलीको रुपमा पनि केरा पठाइने गरेको स्थानीय हरि प्रसाद शर्माले बताए । यहाँको केरा बजारमा प्रतिदर्जन १ सय २० देखि १ सय ५० रुपैयाँसम्म पनि बिक्री हुने गरेको छ । जैमिनी नगरपालिकाले केरा पकेट बिस्तार कार्यक्रमअन्तर्गत कृषि निर्देशनालयको सहकार्यमा ‘नाफा परियोजना’ थालेको शर्माले बताए । ‘एक करोड बजेटमा हामीले प्रवर्द्धनात्मक कार्यक्रम गर्दैछौं,’ शर्माले भने, ‘सिँचाइका लागि पाइप खरिद गरेर किसानलाई दिने काम भैरहेको छ ।’ अनुदान र प्रबर्द्धनात्मक कार्यक्रम आएपछि बाँझो जमिनमा किसानले केरा खेती बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->