पोखरा / अहिलेको ब्यस्त स्मार्ट दुनियाँमा डायरी र कलम बोकेर कामको विवरण लेखिराख्नुपर्ने झन्झटलाई अन्त्य गर्न भन्दै नेपाली युवाहरुले नयाँ एप विकास गरेका छन् । दैनिक कामकाज, भेटघाट, बैठक तथा अन्य महत्वपूर्ण कार्यहरु व्यवस्थित गर्ने उद्देश्यले उनीहरुले नयाँ एप ‘माइ टास्क’को विकास गरेको बताए ।
‘माइ टास्क’ अर्थात् ‘मेरो काम’ एपका डिजाइनर तथा इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रालिका कार्यकारी अध्यक्ष इन्जिनियर अनुप खनालका अनुसार यो एप नेता, व्यापारी, कर्मचारी, डाक्टर, इन्जिनियर, अभियन्ता, पत्रकार लगायत सबैलाई उपयोगी हुने खालको छ ।
‘माइ टास्क’ एपमा आफूले बिभिन्न समयमा सम्पन्न गर्नुपर्ने काम, महत्वपूर्ण भेटघाट, बैठक तथा निश्चित समयभित्र सम्पन गरिसक्नुपर्ने गतिविधीहरुको पहिले मिति, समय र कामको विवरण रेकर्ड गरिन्छ ।
त्यसपछि एपले समयक्रम अनुसार क्रमशः आज, भोलि, एक हप्ताभित्र, एक महिनाभित्र तथा त्यसपछिका दिन र समयमा गर्नुपर्ने कामहरु व्यवस्थित ढंगले देखाउँछ ।
नयाँ यो एपमा महत्वपूर्ण कामहरु, बैठक तथा निश्चित समयभित्र सम्पन्न गरिसक्नुपर्ने कामहरुको बारेमा तोकिएको समयभित्र एसएमएसमार्फत् प्रयोगकर्ताको मोबाइलमा पूर्वसूचना दिने सुविधा समेत छ ।
एकै दिनमा गर्नुपर्ने कामको संख्या धेरै भएको अवस्थामा ती कामहरुको प्राथमिकता निर्धारण गर्ने, सम्पन्न भइनसकेका तथा निरन्तर निगरानीमा राख्नुपर्ने कामहरुलाई काम नसकिएसम्म दोहोर्याएर देखाइराख्ने साथै कुनै काम पछिलाई सार्नुपर्ने भए सजिलै सार्न मिल्ने फिचर्स पनि यो एपमा समावेश गरिएको छ ।
यो एपमा कुनै पनि बैठक सम्पन्न भैसकेपछि उक्त बैठकका निर्णयहरु भविष्यका लागि सुरक्षित भण्डारण गर्न सकिन्छ । साथै व्यक्तिगत घटनाहरुको जानकारी तथा भ्रमणका रमाइला सम्झनाहरु समेत यस एपमा रेकर्ड गरेर राख्न मिल्छ ।
सुरुमा आफ्नै कार्यालयका कर्मचारीहरुको दैनिक कामकाजलाई व्यवस्थित गर्ने उद्देश्यले यो एपको विकास गरिएको भए पनि पछि विभिन्न सुझावहरुको आधारमा सुरुको डिजाइनमा केही विशेष सुविधाहरु थप गरी सबैलाई उपयोगी हुने गरी परिमार्जन गरिएको इन्जिनियर खनालले बताए । उनी भन्छन्, यो एपले तपाईं हामी सवैको सहयोगीको रुपमा काम गर्नेछ।’
सर्वसाधारणलाई जानकारी दिने तथा उनीहरुलाई यसको उपयोगिता परीक्षण गर्न दिने उद्देश्यले कम्पनीले यो एपलाई एक हप्ताका लागि निःशुल्क प्रयोग गर्न सकिने गरी वेबसाइटमा राखेको छ । यसको लागि www.stationlogin.com/mytask/login टाइप गरी आफ्नो एकाउन्ट दर्ता गरेर प्रयोग गर्न सकिन्छ ।





