पोखरा/गण्डकी प्रदेशमा एक लाख भन्दा बढी बालबालिकामा पोलियोको खतरा देखिएको छ । गण्डकी प्रदेशलाई पुर्ण खोपमुक्त प्रदेश बनाउँदै गर्दा पोलियोविरुद्धको टाइप २ को खोप लगाउनबाट उक्त संख्यामा बालबालिका छुटेका हुन् ।
विश्व स्वास्थ्य संगठनले सन २०२६ सम्म पोलियो उन्मुलन गर्ने लक्ष्य राखेछ । नेपालमा सन् २०१० देखी कुनै पोलियो रोग देखा नपरेको र पोलियोमुक्त अवस्थामा रहेको छ । यद्यपि, अपगानिस्तान र पाकिस्तानमा पोलियो देखिएको हुँदा त्यसको प्रभाव नेपालमासमेत पर्ने देखिएको छ ।
वि.सं. २०७१ सालबाट पोलियो रोगविरुद्धको टाइप टु अर्थात् आईपीभी प्रदान सुरु गरेपनि २०७३ सालको सुरुवातसँगै विश्व बजारमा यो खोप अभाव भएको थियो । जसले गर्दा २०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरु खोपबाट छुट्न थालेका थिए ।
खोपबाट बञ्चित भएका देशभरका १४ लाख बालबालिकालाई यो खोप प्रदान गरिँदैछ । गण्डकी प्रदेशमा जेठ १३ देखि २६ गतेसम्म आईपीभी खोप अभियान सञ्चालन हुने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
‘हामीले तयारी राम्रै गरेका थियौं तर, विडम्बना विश्वमै आईपीभी खोपको अभाव भयो र हाम्रा बालबालिकाहरु पनि छुट्न गए,’ उनले भने, ‘हाम्रो उद्देश्य कुनै पनि बालबालिका नछुटुन् भन्ने छ । हाम्रो सबै तयारी भइसक्यो । अब खोप लगाउन मात्रै बाँकी छ ।’
उक्त खोपबाट गण्डकीमा भने १ लाख १० हजार ३ सय २७ जना बालबालिका छुटेका थिए । ती बालबालिकालाई आई.पि.भी खोप लगाइने छ ।
स्वास्थ्य मन्त्रालयले गण्डकीले दिएको तथ्याङ्कअनुसार कास्कीमा सबैभन्दा बढी २८ हजार तीन समय सात बालबालिका रहेका छन् । मुस्ताङमा चार सय ५०, म्याग्दीमा चार हजार तीन सय ५६, बागलुङमा ११ हजार सात सय ७१, पर्वतमा पाँच हजार सात सय, स्याङजामा दश हजार एक सय ४५, मनाङमा एक सय ५३, लमजुङमा ६ हजार ६ सय ६५, गोरखामा आठ हजार पाँच सय ३९, तनहुँमा १४ हजार पाँच सय १२ र नवलपरासीमा १९ हजार सात सय २९ बालबालिकामा आइपिभि खोप लगाइने छ । जसका लागि तीन हजार चार सय ५३ खोप केन्द्रमा तीन हजार चार सय ५३ स्वास्थ्यकर्मी तथा ६ हजार नौ सय ६ स्वयंसेवक परिचालन हुनेछन् ।
२०७३ वैशाखदेखि ०७५ आश्विनसम्म जन्मिएका बालबालिकाहरुलाई मात्र आई.भि.पी खोप लगाइने बताए । ‘जेठ १३ देखि देशभर नै सुरु हुने आईभीपी खोप अभियानमा गण्डकी प्रदेशमा १ लाख १० हजार ३ सय २७ जना बालबालिकालाई खोप लगाउँदै छौं,’सचिव डा. शर्माले भने, ‘२०७३ वैशाखदेखि ०७५ आश्विनसम्म जन्मिएका बालबालिकाहरुलाई मात्र खोप लगाउँछौं ।’
उनले २ हप्तासम्म सञ्चालन हुने अभियानमा विद्यालय नजाने र विद्यालयमा खोप लगाउन छुटेका बालबालिकाहरुलाई पायक पर्ने बाह्य खोप केन्द्र तथा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप लगाइने बताए । नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता,१० हप्ताका बालबालिकाहरुलाई मुखबाट थोपा तथा १४ हप्ता र ९ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले स्वास्थ्य र बालबालिकाको विषयमा मसिनो गरि योजना बनाएर जान आवश्यक रहेको बताए । उनले आईभिपि खोप विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेको र यसले बालबालिकालाई पोलियोखोपबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने हुँदा छुटेका सबै बालबालिकालाई खोप लगाउन अनुरोध गरे ।





