बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तंग्राममा कुकाठ हटाउने अभियान

तंग्राममा कुकाठ हटाउने अभियान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०८१, शनिबार
GEDSC DIGITAL CAMERA

तस्बिर गुगलबाट
बागलुङ/केही वर्ष अघिसम्म प्रष्ट देखिने गाउँका घरहरु आजभोली मुस्कीलले देख्न पाइन्छ । उर्वर खेतका फाँटदेखि बारीका पाटालाई कामै नलाग्ने कुकाठको जंगलले ढाकेको छ ।
हलगोरुले दिनभरी रोपाई गर्दा पाँच मुरी धान फल्ने खेतमा अहिले मुस्किलले दुई मुरी उब्जिन्छ । हिउँदे बालीको पनि उत्पादन घटेकै छ । खेतबारी र बस्तीको नजिकै हुर्किएका कुकाठका रुखले प्रताडित छन् काठेखोला गाउँपालिकाबासी ।
कुकाठको जंगलले खेतीबालीमा मात्रै असर गरेको छैन् । त्यहि जंगलको सहरामा खेतबारीका छेउछाउमा देखिने बाँदर घरकै भान्छामा पुग्छ, जंगली जनावर गाउँ डुल्न थालेका छन् । पातलिँदो बस्ती, खेतीयोग्य जमिनमा कुकाठका बिरुवा हुर्किन थालेपछि सिर्जना भएको समस्या समाधान गर्न काठेखोला गाउँपालिका–४ तंग्रामले अभियान थालेको छ । खेतबारी र बस्ती नजिकका कुकाठका रुखहरु हटाउन वडाले अभियान थालेको हो ।
चालु आर्थिक वर्षमा ३ लाख रुपैयाँ कुकाठ हटाउन वडाले खर्च गरेको छ । साविक तंग्राम गाविसको वडा नं. ३, ६ र ९ का खेतबारी र बस्ती नजिकका रुख हटाईएको वडा अध्यक्ष लक्ष्मण पुनले बताए । ‘कुकाठ हटाउन विरोध भएपनि पछि हटेनौं, एउटाको रुखले अर्काको जग्गामा असर गरेका धेरै छन्’ पुनले भने ‘कुकाठ मासेर उत्पादन बढाउने योजनामा छ ।’ केहीले अभियानको बिरोध गरेपनि धेरैले अभियानलाई सहयोग गरेको पुन बताउँछन् ।
वडाले डालेघाँस र फलफुलका बिरुवाबाहेक खेतीयोग्य जमिन र बस्ती छेउका रुख हटाउने भनेको छ । स्वस्फुर्त रुख हटाउन आव्हान गर्दा कसैले नमानेपछि वडाले बजेट बिनियोजन गरेर अभियान थालेको हो । तंग्रामकै विष्णु कँडेलको अध्यक्षतामा रुख हटाउन उपभोक्ता समिति बनेको छ । ‘यो वर्ष साविक तीन वडामा रुख हटाउने अभियान चल्छ, वडाभरीकै काम सक्न बजेट पुग्दैन्’ कँडेलले भने ‘कुरा बुझेपछि रुख हटाउन सहयोग गरिरहेका छन् ।’
वडले सबै बस्ती र खेतबारी वरिपरिका रुख हटाउने योजना बनाएको छ । एकै पटक रुख काट्दा त्यसको व्यवस्थापन गर्न कठिन हुने हुँदा चरणबद्ध अभियान चलाईने वडाध्यक्ष पुनले बताए । रैथानेबाली, उन्नत जातको खेतीबाली र फलफुल खेतीलाई समेत बढवा दिन लागिएकाले कुकाठको असर कम गर्न थालिएको उनले बताए ।
काठेखोलामा यसअघि पनि कुकाठ हटाउने अभियान चलेको थियो । वडा नं. ५ र ६ बिहुँका किसानले खेतबारीमा सुन्तला खेतीका लागि कुकाठ हटाएर बिरुवा रोप्ने अभियान चलाएका थिए । बिहुँमा चलेको अभियानबाट किसानले लाभ लिएको देखेका तंग्रामबासीले वडाको अभियानमा सहयोग गरेको वडा अध्यक्षको बुझाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->