बागलुङ/श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई राधाकृष्ण राष्ट्रिय सनातन धर्म पुरस्कार प्रदान गरिएको छ । राधाकृष्ण मन्दिर सेवा समिति बागलुङले शनिबार एक कार्यक्रमका बीच हरिहर सन्यास आश्रम देवघाटका पिठाधीश तथा सन्त समाज नेपालका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
स्व. डम्बर बहादुर श्रेष्ठको स्मृतिमा उनका परिवारबाट स्थापित पुरस्कार वैदिक सनातन धर्मको संरक्षण, पूर्वीय दर्शनको प्रचार र प्रवद्र्धनमा पुर्याएको योगदानको कदर गर्दै यसवर्ष स्वामी ज्ञानानन्द महाराजलाई प्रदान गरिएको राधाकृष्ण सेवा समितिका सचिव हरि प्रसाद उपाध्यायले जानकारी दिए । पोखरा विश्व विद्यालयका उपकुलपति प्रा. डा. प्रेम नारायण अर्याल र राधाकृष्ण सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीले स्वामी ज्ञानानन्द सरस्वतीलाई पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै पोखरा विश्व विद्यालयका उपकुलपति प्रा. डा. प्रेम नारायण अर्यालले जीवन दर्शन संस्कार र संस्कृति बचाउनेतर्फ सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिए । धर्म संस्कृतिको विकासका लागि आगामी दिनमा विद्यालयहरुलाई पनि आध्यात्मिक चिन्तन गर्ने थलोको रुपमा विकास गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, राधाकृष्ण सेवा समितिका सदस्य निर्माण कुमार श्रेष्ठ ‘वासु’ र डम्बर स्मृति कोषको तर्फबाट रसुमिला श्रेष्ठले बोलेका थिए । समितिले यसअघि डा. जगमान गुरुङलाई डम्बर संस्कृति राष्ट्रिय पुरस्कार र भजन शिरोमणि गायक भक्तराज आचार्यलाई नन्द कला राष्ट्रिय पुरस्कार प्रदान गरेका थियो ।
कार्यक्रम समितिका अध्यक्ष रमेश कुमार राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष भरतकुमार श्रेष्ठको स्वागत र सचिव हरि प्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।





