तस्बिर : विरेन्द्र कँडेल
बागलुङ/सिकारी र विभिन्न जरिवानाबाट ढोरपाटन सिकार आरक्षले चालुवर्ष बैशाख मसान्त सम्ममा ४ करोड ४८ लाख १५ हजार राजश्व संकलन गरेको छ । गत वर्ष आरक्षमा ३ करोड ४८ लाख मात्रै राजश्व संकलन भएको थियो ।
असार मसान्तसम्म गतवर्षको दोब्बर राजश्व संकलन हुने अपेक्षा छ । सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएमा बढीबढाउमा सिकारी छानिने अवसरले राजश्व बढेको हो । कोरोना संक्रमणमा सिकारी आउनै सकेनन् भने द्वन्द्वलगायत स्थानीय विवाद बढ्दा पनि सिकारी आउन नसक्दा राजश्व संकलन घट्दो थियो ।
चालुवर्षका दुई सिजन गरी ढोरपाटनमा ३० वन्यजन्तुको कानूनी सिकार भएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कंडेलका अनुसार, शिकार अनुज्ञापत्र शुल्कबाट मात्रै ४ करोड २६ लाख राजश्व संकलन भएको हो । त्यसबाहेक पर्यटक प्रवेश शुल्कबाट ११ लाख ६५ हजार, काठ, नदीजन्य वस्तु र जरिवानाबाट ९ लाख ४ हजार र हेलिकप्टर अवतरण गराएबापत ५७ हजार राजश्व संकलन भएको हो ।
गतवर्ष ७ हजार ६ सय ४५ पर्यटक मात्रै आएकोमा चालुवर्ष ९ हजार ४ सय ३६ पर्यटक आरक्ष आएको तथ्यांक छ । सिकार भने गतवर्ष पनि ३० वटै भएका थिए । आरक्षले तोकेको कोटामा बढीबढाउ गरेर सिकारी छानिने प्रावधान छ ।
त्यसअघि आर्थिक वर्ष २०७८÷०७९ मा भने ९ हजार ९ सय १९ पर्यटक आएपनि राजश्व भने १ करोड ७५ लाख ७७ हजार संकलन भएको थियो । उनीहरुको प्रवेश शुल्क मात्र नभइ घुम्ने समय, जाने अन्य स्थानबाट कर संकलन बढी भएको हो । कोरोनाका कारण आर्थिक वर्ष २०७६÷७७ मा ३७ लाख र आर्थिक वर्ष २०७७÷७८ मा २० लाख संकलन भएको थियो । कोरोनापछि राजश्व संकलन बढिरहेको हो ।





