बागलुङ/केही वर्षअघि जैमिनी नगरपालिका वडा नं. वडार गाउँ भरिभराउ थियो । कृषि कर्मबाट गुजारा चलाउनेहरु खुशी देखिन्थे । वडार गाउँ २०७० को दशकमा सडक सञ्जालसँग जोडियो । गाउँलाई फेरो हालेर जैमिनी १ कुश्मीशेरा र बागलुङ नगरपालिका ११ रायडाँडा जोड्ने सडकले गाउँ नै पहिरोको जोखिममा पार्यो ।
सुविधाका लागि बनाइएको सडकले वडारबासीको उठिबास लगायो । तीस परिवार रहेको गाउँ अहिले पाँच परिवारमा खुम्चिएको छ । पहिले पहिरोको आउला कि भनेर गाउँलेहरु बसाई सरे, अहिले घरछेउमै पहिरो खसेपछि गाउँलाई तितरवितर बनायो ।
दुई वर्षअघि भदौ २१ गते बागलुङ नगरपालिका ११ को तल्लो रामतोलामा ठूलो पहिरो खस्यो । पहिरोले वडार र रामतोलाका दर्जनौं घर परिवार विस्थापित भए । जमिन बग्दा सडक, जंगल र पिपलका रुख बगे, पहिरो भने रोकिएको छैन् । ‘हिउँदमा ढुक्कले घरमै बसियो, बर्खा लागेसँगै पहिरोले सताउँछ,’ पहिरो छेउवैमा घर भएका वडारका खेम पौडेलले भने,‘भीमकाय पहिरोले बेचैन बनाएको छ ।’
पहिरोले रामतोलाका ७ र वडारका १५ परिवार विस्थापित भएका छन् । बागलुङ र जैमिनी नगरपालिकाका दुवै गाउँमा बाँकी रहेका घरपरिवारमा समेत बर्खा लागेसँगै पहिरोको चिन्ता छ । जमिन चिरा परेको स्थान हेर्दा सयौं रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको पौडेलले बताए ।
पहिरो नियन्त्रणका लागि स्थानीय र प्रदेश तहबाट कठिन हुने भएपछि नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाई विभाग, जोखिमयुक्त पहिरो व्यवस्थान आयोजनाले अध्ययन गरेको थियो । पहिरोको अध्ययन र बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार काम भएपनि स्रोत अभावमा वर्षौं लाग्ने रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । तीन तहका सरकार मिलेर पहिरो नियन्त्रणको प्रयास भैरहेको गौतम बताउँछन् ।
‘घरबासबिहीनलाई तत्काल राहत उपलव्ध गराईयो, बस्ने बन्दोबस्ती मिलाइयो, बाँकी नियन्त्रणको काम चलिरहेको छ,’ गौतमले भने ‘पहिरो सानोतिनो बजेट र कामले रोकिने अवस्थामा छैन् ।’ पहिरोले बगेका सडक पुनर्निर्माण गर्ने, भलबाढी तर्काउने र पहिरो थप गहिरो हुन नदिन तारजाली लगाउने काम चलिरहेको छ ।
पहिरो नियन्त्रणका लागि संघीय सरकारले जलाधार संरक्षण कार्यक्रमबाट २५ लाख र गण्डकी प्रदेश सरकारले बिपत् व्यवस्थापनबाट ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । उक्त बजेट चालु आर्थिक वर्षमा कार्यान्वयनमा रहेकाले थप क्षति हुनबाट बचाउन सहयोग पुग्ने जैमिनी १ कुश्मीशेराका वडाअध्यक्ष विष्णु आचार्यले बताए । पहिरोको त्रासले गाउँ छोडेकाहरु चितवन, नवलपरासी र देशका ठूला सहरमा बसाइँ सरेका छन् । गाउँमा बाँकी रहेकाहरु पनि हिउँदे वर्षामा समेत सुरक्षित घर खोजेर बास बस्ने अवस्था रहेको आचार्य सुनाउँछन् ।





