बागलुङ/ नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा रामानुज आश्रम बागलुङ नगरपालिका—१ निरयघाटमा खाद्यान्न सहयोग गरिएको छ । २०४८ साल जेठ १३ गते स्थापना भएको लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन प्रेस युनियन ३३ वर्ष पूरा भएको अवसरमा जिल्ला शाखा बागलुङको आयोजनामा खाद्यान्न सहयोग गरिएको हो । आश्रममा आश्रितहरुलाई खाद्यान्न हस्तान्तरण गर्दै नेपाल प्रेस युनियका निवर्तमान केन्द्रीय सदस्य एवं बागलुङ नगरपालिका—११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले नेपालमा लोकतन्त्रको स्थापनाका लागि सञ्चार क्षेत्र र पत्रकारका ठूलो भूमिका रहेको बताए ।
‘नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत र पत्रकारको ठूलो भूमिका छ,’उनले भने,‘संगठनात्मक रुपमा प्रेस युनियनले पनि यस विषयमा आफ्नो भूमिकालाई सशक्त देखाएको छ ।’ गौतमले आफु पत्रकारिताको पृष्ठभूमिबाट जनप्रतिनिधिमा निर्वाचित भएकाले पत्रकार र पत्रकारिताको समस्याबारे जानकार रहेको बताए । ‘पत्रकार र पत्रकारिताको समस्याबारेमा मलाई राम्रोसंग थाहा छ,’उनले भने,‘हिजोका दिनमा म पनि यही पेशामा थिएँ । अहिले जनप्रतिनिधिको रुपमा छु । पत्रकारिता पेशालाई मर्यादित बनाउँदै पत्रकारका हकहितको सुरक्षा र संरक्षणका लागि प्रेस युनियनको स्थापना भएको हो ।’
गौतमले आश्रममा आश्रित ज्येष्ठ नागरिकको लागि खाद्यान्न सहयोग गर्ने रचनात्मक काम गरेकोमा प्रेस युनियन बागलुङ शाखालाई धन्यवाद पनि दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रलाई व्यवसायिक बनाउनका लािग संगठनात्मक रुपमा प्रेस युनियनको भूमिका महत्वपूर्ण रहेको बताए । ‘व्यवसायिक पत्रकारिताको विकास र प्रेस स्वतन्त्रताको आन्दोलनमा प्रेस युनियको भूमिका महत्वपूर्ण छ,’उनले भने,‘हाम्रो पत्रकारिता जगतलाई अझै व्यवसायिक र मर्यादित बनाउँदै अगाडि बढ्नुपर्नेछ ।’
उनले पत्रकार महासंघको निर्वाचनमा पनि संघारमै आएको पत्रकारिता पेशागत संघ संगठनहरु मिलेर सहमति र सहकार्यमा महासंघको नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । रामानुज आश्रमकी पवित्रकला पुरुसोत्तम आमाजीले आश्रमलाई सम्झेर सहयोग गरेको धन्यवाद दिईन् । स्थापना दिवसको पूर्वसन्ध्यामा दुई बोरा चामल, एक कार्टुन तेल, चार किलो दाल, पानी पिउने प्लाष्टिक गिलास र कपडा धुने सरफ आश्रमलाई सहयोग गरिएको प्रेस युनियन बागलुङका उपाध्यक्ष सुवास आचार्यले जानकारी दिए । नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव नवराज परियारले गरेका थिए ।





