बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोट नगरले घरदैलोमा सुरु गर्यो निःशुल्क स्क्रिनिङ सेवा

गलकोट नगरले घरदैलोमा सुरु गर्यो निःशुल्क स्क्रिनिङ सेवा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८१, मंगलबार

बागलुङ / गणतन्त्र दिवसको अवसर पारेर गलकोट नगर अस्पतालले जनताको घरदैलोमा पुगेर नसर्ने रोगको स्क्रिनिङ सेवा सुरु गरेको छ ।

स्थानीय नागरिकलाई घरदैलोमा नै पुगेर विशेषज्ञ चिकित्सक सहितको अध्याधुनिक प्रयोगशाला सेवा प्रदान गर्ने उदेश्यसहित गलकोट नगरपालिका-१ दुदिलाभाटीमा मंगलवारदेखि निःशुल्क स्क्रिनिङ सेवा सुरु गरिएको हो ।

काममा व्यस्त रहने ४० देखि ६० बर्ष उमेर समुहका नागरिकहरुमा नसर्ने रोगको प्रकोप बढ्दै गएको पाईएकोले उनीहरुको घरदैलोमा पुगेर सेवा दिन सुरु गरिएको नगर अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. राजेश पौडेलले जानकारी दिए ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेको रक्त नमुना संकलन गरेर सुरु गरिएको सो शिविरबाट दुई सय बढि नागरिकको रक्त नमुना संकलन गरिएको छ ।

शिविरको उदघाट्न गर्दै नगर प्रमुख शर्माले नागरिकप्रतिको सामाजिक दायित्वलाई आत्मासात गर्दै गणतन्त्र दिवसको अवसर पारेर दुदिलाभाटीबाट यो सेवा सुरु गरिएको र यसलाई पालिकाभर नै विस्तार गरिने वताए ।

वडा अध्यक्ष लाल वहादुर रानाको अध्यक्षतामा भएको उदघाट्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थम्मनसिंह गौतम, स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेल, डा. राजेश पौडेल, लेखा अधिकृत कृष्ण प्रसाद खराल र शिक्षा अधिकृत शिव खड्काले मानव स्वास्थ्य, नागरिक दायित्व र शिविरको महत्वको वारेमा वोलेका थिए ।

गलकोट नगर अस्पतालमा पूर्ण स्वचालित बायोकेमेष्ट्री एनालाईजर मेसिन जडान गरिएपछि पहिलो पटक दुदिलाभाटीवाट नसर्ने रोगको स्क्रिनिङ शिविर सुरु गरिएको डा. पौडेलले वताए ।

डा. पौडेलका अनुसार ४०–६० उमेर समुहका नागरिकहरुमा मुटु तथा रक्तनलीको रोग, मधुमेह, मृगौला, यूरिक एसिड जस्ता रोगहरुको पहिचान गरी उपचारमा ल्याउने र आईपर्ने जटिलताबाट बचाउन शिविरले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

शिविरबाट मंगलवार २ सय जनाको रक्त नमुना संकलन गरिएको र बुधवार उनीहरुलाई स्वास्थ्य संस्थामा वोलाई प्रयोगशालाको रिर्पोटसहित विशेषज्ञ चिकित्सकद्धारा रोग निदानको उपचार तथा प्रेषण सेवा प्रदान गरिने छ ।

शिविरमा स्थानीयको राम्रो सहभागिता रहेकोले यस किसिमको कार्यलाई निरन्त्तरता दिईने डा. पौडेलले वताए । कार्यक्रमको सञ्चालन दुदिलाभाटी स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक जीवन नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->