पोखरा/ पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले एकहप्ते सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निशुल्क तालिम सुरु गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले तालिम दिन थालेको हो । तालिममा ५० विद्यार्थी सहभागि छन ।
बुधबार सुरु तालिम एकसाता चल्ने विद्यालयका प्राचार्य सरोज कोइरालाले बताए ।
कोइरालाका अनुसार पोखराकै आइरिस हेयर एण्ड ब्युटी केयर प्रालिसँगको सहकार्यमा तालिम दिइएको छ । पश्चिमाञ्चल माविमा सैद्धान्तिक र आइरिस हेयर एण्ड ब्युटी केयरमा प्रयोगात्मक अभ्यास हुनेछ । एकसाता अवधिको यो तालिमले सुरुवाती चरणको सेल्फ मेकअप सम्बन्धि ज्ञान दिलाउने कोइरालाले बताए । विद्यालयका उच्च मावि संयोजक देव क्षेत्रीले सौन्दर्यताका सामाग्री कुनबेला कस्तो प्रयोग गर्ने भन्ने ज्ञान आवश्यक रहेको बताए । उनले अहिलेको सिकाईले विद्यार्थीलाई आगामि दिनमा यही क्षेत्रमा लाग्न प्रेरणा दिने बताए ।
पश्चिमाञ्चल फाउन्डेसनका पूर्वअध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले एसइइपछि बालबालिकालाई कामविहीन अवस्थामा राख्नुभन्दा व्यस्ता बनाउनका लागि विद्यालयले पहल थालेको बताए । उनका अनुसार विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत अहिले निशुल्क तालिम दिन थालेको बताए । ‘परीक्षा दिएर बसेका भाइबहिनी अहिले कामविहीन अवस्थामा छन । सुतेर समय कटाउनु भन्दा केही सीपमुलक काम सिक्दा ठिक हुने देखेर यो प्रयास थालेका हौ,’ उनले भने ।
विद्यालयका अध्यक्ष प्राडा रामनाथ ओझाका अनुसार विद्यालयले आगामि शैक्षिक सत्रदेखि कक्षा ११ र १२ (प्लस टु) मा सौन्दर्य तथा केश कला विषयको पढाइ सुरु गर्न थालेको छ । त्यसका लागि आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रियाहरू पूरा गरी आउँदो कक्षा ११ को नयाँ भर्नाबाट यस विषयको कक्षा सञ्चालन हुन गइरहेको जानकारी दिए । तालिमपछि सौन्दर्यताको क्षेत्रमा भविश्य देख्नेका लागि यो विषयको महत्व रहेको उनले बताए । विस २०४९ मा स्थापना भएको पश्चिमाञ्चल माध्यमिक विद्यालयमा हाल नर्सरीदेखि १२ कक्षासम्मका कक्षाहरू सञ्चालन भइरहेका छन् । हालसम्म कक्षा ११ र १२ मा व्यवस्थापन, होटल व्यवस्थापन, विज्ञान, मानविकी र कानुन विषयको अध्ययन अध्यापन हुँदै आइरहेको छ ।
आइरिस हेयर एण्ड ब्युटी केयर प्रालिकी संचालक सोनम गुरुङले ब्यूटिसियन क्षेत्रमा जो कोहीका लागि अवसर रहेको बताईन । उनले स्वदेशमा मात्र नभई विदेशमा पनि यसको महत्व रहेको जानकारी दिईन ।





