बागलुङ/जिल्लाको अमलाचौरका शिक्षासेवी शान्ता शर्माले विद्यार्थीहरुलाई विद्यालय पोशाक सहयोग गरेका छन् । शर्माले बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा रहेको जनचेतना प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक सहयोग गरेका हुन् ।
विद्यालयमा अध्ययन गरिरहेका ३० जना विद्यार्थीका लागि ६० हजार रुपैयाँ बराबरको पोशाक सहयोग गरेको विद्यालयले जनाएको छ । शर्मा आँफैले बुधबार एक समारोहका बीच विद्यार्थीलाई पोशाक उपलव्ध गराएका थिए । आफु जन्मेहुर्केको गाउँको विद्यालयलाई सहयोग गर्ने भन्दै उनले केही समयदेखि खाजा खर्च कटाएर रकम जम्मा गर्दै आएका थिए ।
काठमाडौंको एलआरआई विद्यालयमा कार्यरत शर्माले निजी विद्यालय हुनेखानेको र सरकारी गरिब र दलितको विद्यालय भन्ने भाष्य चिर्न राज्यले लगानी बढाउनु पर्ने बताए । उनले सामुदायीक विद्यालयमा पढ्ने बालबालिकालाई सबै क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यालयका अभिभावक, राजनीतिक दलका प्रतिनिधी र स्थानीय जनप्रतिनीधी सहभागि भएका थिए । आफुले विद्यालय पोशाक पाएकोमा विद्यार्थीहरुले खुशी ब्यक्त गर्दै आफुहरूलाई पढ्नमा थप उर्जा मिलेको बताएका थिए ।





