बागलुङ/जिल्ला प्रशासन कार्यालय, जिल्लाका सरकारी कार्यालयका सूचना अधिकारी र संचारकर्मीबीच बिहिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हालै मात्र जिल्ला आएका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको अगुवाईमा भएको अन्तरक्रियामा जिल्लाका सरकारी कार्यालयले गरेका कामको प्रकृति तथा संचारकर्मीको अपेक्षा पहिचान गर्न कार्यक्रम गरिएको हो ।
प्रजिअ सुवेदीले सबैलाई आफ्नो कार्यालयले गरेका कामको प्रगती बताउन लगाएपछि संचारकर्मीबाट अपेक्षा राख्न लगाइएको थियो । उक्त अबसरमा आधाजसो सूचना अधिकारी र केही अन्य कर्मचारीले कार्यालयले गरेका कामको बारेमा जानकारी दिएका थिए । त्यसबाहेक केही नवप्रवद्र्धनात्मक काम पनि सूचना अधिकारीहरुले सुनाए ।
केही कार्यालयमा भने अझै पनि सूचना प्रष्ट नभएको, जानकारी कम हुँदा संचारकर्मीलाईपनि दिन नसकेको बताइएको थियो । पत्रकारले पनि सूचना माग्दा असहज भएको, कतिपय सूचना प्रचारात्मक मात्रै आउने गरेको टिप्पणी भएको थियो । तर खोजमुलक समाचारकालागि चाहिने डाटाकालागि भने अझैपनि केही दिन कुर्नुपर्ने, कुर्दापनि भनेको जस्तै सूचना आउन नसकेको गुनासोहरु बढेका थिए ।
कार्यक्रममा प्रजिअ सुवेदीले हरेक दुइ महिनामा सूचना अधिकारी र पत्रकार अन्तरक्रिया गर्ने र भएका क्रियाकलापको जानकारी ल्याउने व्यवस्थापन मिलाउने बताए । त्यस बाहेक कतिपय सूचनाहरु समयमा प्राप्त गर्न पहल गराउने, आफ्नै कार्यालयका सूचना पनि सहज बनाउने, संवेदनशिल सूचना बाहेक सबै सहजै पाउने व्यवस्थापन मिलाउने समेत प्रतिवद्दता जनाएका थिए ।
कार्यक्रममा पत्रकारहरुले सबै कार्यालयलाई नियमित पत्रकार भेटघाट तथा सार्वजनिक सुनुवाई पनि गर्न आग्रह गरेका थिए । उक्त आग्रहपछि प्रजिअले सबै कर्मचारीलाई सोही अनुसारको निर्देशन पनि दिए । उनले आगामी संविधान दिवशको दिन प्रकाशित हुने गरी जिल्लाभरको बिकास र गणतन्त्रको उपलब्धीलाइ लिपिबद्ध गराउन पहल गर्ने बताएका थिए ।





