बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका, ७ रेशमा रहेको रेश नुन्थला माध्यामिक विद्यालयले शैक्षिक सत्र २०८० का उत्कृष्ट शिक्षक, विद्यार्थी तथा अभिभावकलाई सम्मान गरेको छ । विद्यालयको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अबसरमा बिहिबार उनीहरुलाई सम्मान गरिएको हो ।
विद्यार्थी, शिक्षक र अभिभावकहरुबाट बिभिन्न बिधिद्धारा विद्यालयले उत्कृष्ट शिक्षक, अभिभावक तथा विद्यार्थी छनोट गर्ने गरेको छ । विद्यालयको उत्कृष्ट शिक्षक तर्फ माध्यमिक तहका शिक्षक डिल वहादुर कार्की, उत्कृष्ट विद्यार्थी तर्फ कक्षा ४ मा अध्ययनरत छात्रा रिया गुरुङ र असल अभिभावक तर्फ रेशकै सिता कार्कीलाई सम्मान गरिएको हो ।
वार्षिकोत्सव मूल समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य लिला बहादुर थापाले विद्यालयले अध्यापन गराउँदै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भुमिका खेलेको बताए । उनले बदलिँदो समयसँगै वैज्ञानिक तथा व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै विद्यालयले विद्यार्थीहरुलाई नैतिक संस्कार र संस्कारयुक्त जीवनउपयोगी शिक्षा दिन आवश्यक रहेको बताए ।
कार्यक्रममा काठेखोला गाँउपालिकाका अध्यक्ष राजु थापा, वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम लामिछाने, नर बहादुर लामिछाने स्मृति कोषका संयोजक जब्बर बहादुर लामिछाने, लिलावति स्मृति कोषका संयोजक डिल बहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार चित्र बहादुर कार्की, नेकपा एमाले वडा कमिटि अध्यक्ष रामचन्द्र गौतम, पूर्व शिक्षक प्रेम बहादुर कार्की, विद्यार्थी दिक्षा कुँवर लगायतले बोलेका थिए ।
विद्यालयका विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई विभिन्न अक्षयकोष तथा स्मृति कोष मार्फत छात्रवृत्ति वितरण तथा विद्यालयको सहयोग गरौ अभियानका सहयोगदाता तथा विद्यालयलाई जग्गा प्रदान गर्ने जग्गादातालाई सम्मान गरिएको विद्यालयका प्रधानध्यापक ओम बहादुर थापाले दिए ।
कार्यक्रममा रेश नुन्थला माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गरे । वार्षिकोत्सवको अवसरमा विद्यालयका प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विभिन्न विधाका उत्कुष्ट विद्यार्थीहरु र शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम रेश नुन्थला माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद थापाको अध्यक्षता, सहायक प्रधानाध्यापक भगवति थापाको स्वागत र शिक्षक डिल बहादुर कार्कीको संचालनमा सम्पन्न भएको थियो ।





