बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बालमैत्री नगर अभियान ८० प्रतिशत पुरा

बालमैत्री नगर अभियान ८० प्रतिशत पुरा

नगरभरको सर्भेक्षणमा एकदर्जन बढी घरमा शौचालय नभएको भेटिएपछि नगरपालिकाले ती घरमा शौचालय निर्माण र शौचालयको प्रयोगबारे सचेतना गराउने काम थालेको छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०८१, शनिबार

बागलुङ/नगरप्रमुख बसन्तकुमार श्रेष्ठले निर्वाचित भएपछि गरेको पहिलो निर्णय कार्यान्वयनको अभियानमा छ । बालमैत्री नगर बनाउने निर्णय अहिलेसम्म ८० प्रतिशत काम पुरा भएको हो । बिशेषगरी पूर्वाधार तर्फका कतिपय काम बाँकी रहेपनि अन्य काम भने पुरा भएको नगर शिक्षा अधिकारी तथा बालमैत्री फोकल पर्सन धनप्रसाद पोखरेलले बताए । पत्रकारहरुका लागि बालमैत्री अभियान अभिमूखीकरण कार्यक्रममार्फत उक्त जानकारी गराइएको हो ।
शनिबार भएको बालमैत्री अभियान अभिमूखीकरण कार्यक्रममा नगर प्रमुख बसन्तकुमार श्रेष्ठले यो अभियान नगरको मात्र नभएर राष्ट्रिय अभियान भएको बताए । नेपाल सरकारले आगामी २०८८ सालभित्र देशलाई नै बालमैत्री बनाउने निर्णय गरेकोले नगर तथा गाउँपालिकाले पनि यो अभियानलाई आफ्नो कर्तव्यको रुपमा अगाडि बढाइएको उनले जानकारी दिए ।
उचित श्रोत साधनको सदुपयोग गर्दै बालमैत्री अभियानलाई सफल बनाउने काममा नगरपालिकाले काम गरिरहेको उनले बताए । यो अभियानका ५१ वटा सूचक पुरा गर्न सबै क्षेत्रले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने प्रावधान छ । सोहीअनुरुप बालमैत्री अभियानका स–साना सूचकहरु पुरा भैसकेका छन् । अब बाल उद्यान निर्माण, बिद्यालयहरुमा अपांग र बालमैत्री पूर्वाधारको निर्माण मात्रै बाँकी रहेको हो ।
त्यस बाहेक बाल विवाह चुनौतीको रुपमा छ । २० वर्ष मुनीका बालबालिकाको विवाह गर्न नहुने भएपनि कतिपय समुदायमा विवाह भैरहेकोले उनीहरुको स्वास्थ्यको समेत समस्या आउने भएकोले त्यो सम्बन्धी जनचेतनाका कार्यक्रम अघि बढीरहेको हो । त्यस बाहेक संचारमाध्यमबाट पनि यो बारेमा जानकारी दिनुपर्ने गरी अभियान चलाइएको छ । नगरपालिकाले त्यस्ता सूचकमा नागरिकको सहभागिता बढाउन शिक्षा र स्वास्थ्यमा पनि लगानी बढाएको श्रेष्ठले जानकारी दिए ।
बालबालिका कुपोषणबाट मुक्त हुनुपर्ने बिषयमा पनि सचेतनाका अभियान चलाइएको छ । गर्भवती महिलालले सबै खोपहरु लगाउनुपर्ने, गर्भवती अवस्थामा ८ पटक स्वास्थ्य परीक्षण गर्ने, सुत्केरी भएपछि पनि शिशुसहित आमाले ४ पटक स्वास्थ्य संस्थामा पुगेर परीक्षण गर्नुपर्ने प्रावधान पनि सूचकमा छ । त्यस्ता सूचकमा शतप्रतिशत पुरा भएको पोखरेलले जानकारी दिए ।
केही बस्तीमा स्वच्छ पानीको आपूर्ति अभाव भएको छ । ‘एक घर एक धारा’ संभव नभएपनि स्वच्छ पानीको सुनिश्चितता हुनुपर्नेमा नगरपालिका प्रतिवद्ध भएर काम गरेको उनले बताए । नगरभरको सर्भेक्षणमा एकदर्जन बढी घरमा शौचालय नभएको भेटिएपछि नगरपालिकाले ती घरमा शौचालय निर्माण र शौचालयको प्रयोगबारे सचेतना गराउने काम थालेको छ । कच्ची शौचालय प्रयोग गरेकाहरुलाई पक्की बनाउन सल्लाह दिएको हो ।
बालमैत्री अभियानको क्रममा निजी तथा सामुदायिक विद्यालयले पुरा गर्नुपर्ने सूचकमा पनि सचेतनाका कार्यक्रम लगिएको छ । निजी क्षेत्रका विद्यालयले संचालन गरेका सवारीले मापदण्ड पुरा गर्नुपर्ने, बालबालिकालाई गह्रौ भारी बोक्न नदिने, बालमैत्री वातावरणमा पठनपाठन गराउने जस्ता काममा नगर शिक्षा शाखाले अनुगमन गर्ने पोखरेलले जानकारी दिए ।
यी सबै काम पुरा गर्न गत वर्षको राजश्व संकलन कम हुँदा बजेट समेत कटौती भएपछि ढीला भएको थियो । यो वर्ष भने सबै सूचकका लागि बजेटको सुनिश्चितता गरेर आगामी पुस मसान्तभित्र बालमैत्री नगर घोषणा गर्ने तयारी भएको हो । त्यसका लागि बालमैत्री घोषणा भैसकेका स्थानमा कर्मचारी र फोकलपर्सनको अध्ययन भ्रमण समेत गराइएको थियो । सबै विद्यालयमा बालक्लब संजाल गठन भएको, वडा वडामा पनि बाल संरक्षणका लागि वडा बाल समिति गठन भएकोले ती संस्था समेत सक्रिय भएर काम गरिरहेका छन् । वडा नं. १४ ले छिटै बालमैत्री वडा घोषणा गर्ने कार्यक्रम समेत राखेको छ । यी अभियान पुरा गर्न साथ र सहयोग गर्ने भन्दै नेपाल पत्रकार महासंघका अध्यक्ष नरेश कंडेलसहित पदाधिकारी र क्रियाशिल पत्रकारले पनि हस्ताक्षर प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->