बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दक्ष जनशक्ति उत्पादन गर्दै धौलागिरी बहुप्राविधिक शिक्षालय

दक्ष जनशक्ति उत्पादन गर्दै धौलागिरी बहुप्राविधिक शिक्षालय


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०८१, आइतबार

पोखरा/वागलुङको वलेवास्थित धौलागिरी वहुप्राविधिक शिक्षालय बाली र पशु विज्ञानका प्राविधिक जनशक्ति उत्पादन गर्न अब्बल बन्दै गईरहेको छ । तीन वर्षे डिप्लोमा अन्तरगत शिक्षालयले यि दुई विषयमा देशभरीका ४० विद्यार्थीलाई पढाउँदै आईरहेको छ ।

यहाँबाट शिक्षा प्राप्त गरेका विद्यार्थीले स्थानीय तहमा कृषि तथा पशु प्राविधिक पदमा जागिर खाईरहेका छन् भने कतिपय विद्यार्थी स्वरोजगार बनेका छन । ‘हाम्रो शिक्षालयका अधिकाँश उत्पादन खाली बस्नु परेको छैन’ शिक्षालयका प्रिन्सिपल राजन नेपाली भन्छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको आंगिक क्याम्पसको रुपमा सञ्चालित शिक्षालयले बाली विज्ञान तथा पशु विज्ञानमा अध्यापन गर्न ४०÷४० जनाको कोटाको अनुमति पाएको छ । २०७४ सालमा स्थापति शिक्षालयमा शुरुआती वर्षमा कोटा अनुसार नै विद्यार्थी भर्ना भईरहेका थिए । तर अहिले भने विद्यार्थी भर्नादर कम भएको प्रिन्सिपल नेपाली बताउँछन् ।

स्थानीय वासिन्दाले यस क्षेत्रमा वहुप्राविधिक शिक्षालयको आवश्यकता महसुस गरेर तत्कालीन शिक्षामन्त्री शर्मासँग माग राखेका थिए । ‘शुरुमा कोटा अनुसार नै विद्यार्थी भर्ना थिए, तर अहिले भने २२ जना विद्यार्थीलाई पढाउनु परिरहेको छ,’ नेपालीले भने । शुरुका वर्षहरुमा यस शिक्षालयमा वागलुङ्, पर्वत तथा म्याग्दीका विद्यार्थीहरुको बाहुल्यता रहेको थियो । प्रिन्सिपल नेपालीका अनुसार अहिले यहाँ पुर्वदेखि पश्चिमसम्मका विद्यार्थीले अध्ययन गरिरहेका छन् । टाढाका छात्रालाई लक्षित गरेर शिक्षालयले १०० जना क्षमताको छात्राबास पनि सञ्चालन गरेको छ । छात्राबासमा छात्राहरुलाई मात्रै बस्ने सुविधा छ । खानाको पैसा भने विद्यार्थीले तिर्नुपर्ने हुन्छ । छात्रहरुले भने खाने बस्ने व्यवस्था आँफै मिलाउनुपर्ने नेपालीको भनाई छ ।

विहान १० बजेदेखि ५ बजेसम्म सैद्धान्तिक र प्रयोगशालाको पढाई हुने शिक्षालयमा विहान र बेलुकाको समयमा विद्यार्थीले प्रयोगात्मक अभ्यास गर्छन । ‘यहाँ प्रयोगात्मक अभ्यासको लागि, कुखुरा फार्म, माछा पोखरी, बाख्रा फार्म, गाई गोठ, प्लाष्टिक टनेल, बारी छन्’ उनले भने, ‘नियमित सैद्धान्तिक कक्षापछि विद्यार्थीले यहाँ प्रयोगात्मक अभ्यास गर्ने गरेका छन् ।’

यसका लागि शिक्षालयसँग छात्राबास सहित १ सय १५ रोपनी जमीन छ । सैद्धान्तिक र प्रयोगात्मक कक्षा समानान्तर हुने भएकाले विद्यार्थी आफ्नो क्षेत्रमा अब्बल ठहरिएको नेपालीको दावी छ । यि विद्यार्थीहरुलाई पढाउन १८ जना प्राविधिक शिक्षक सहित २७ जना कर्मचारी छन् ।
शिक्षालयले प्रति विद्यार्थी ५० हजार शुल्क लिँदै आएको छ । ‘एक वर्ष ५० हजार तिरेपछि तीन वर्षे डिप्लोमा कोर्ष पुरा हुन्छ’ उनले भने । तीन वर्ष यहाँ अध्ययन गरेपछि ईच्छुक विद्यार्थीले चाहेमा विश्वविद्यालयको अध्ययन अगाडी बनाउन सक्ने नेपालीले बताए । ‘यहाँको मान्यता भनेको प्लस टु सम्मको हो, पास गरेपछि विद्यार्थीले वि एस्सी एजी पढ्न सक्छ,’ उनले भने । यस क्षेत्रमा पानीको अभाव भएकाले प्रयोगात्मक कक्षाको लागि पर्याप्त पानी पुग्दैन । माछा सम्बन्धि प्रयोगात्मक अध्ययन गर्नुपर्यो भने, कहिलेकाहिँ त पोखरी रित्तै हुने नेपालीको दुखेसो छ ।

गण्डकी प्रदेशमा विभिन्न संघसंस्था र विद्यालयहरुले बाली र पशु विज्ञान विषय अध्यापन गराईरहेका छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद गण्डकी प्रदेशका सूचना अधिकारी शरद कोईरालाका अनुसार यस प्रदेशमा ३० वटा सामुदायिक विद्यालयले प्राविधिक धारतर्फ बाली र पशु विज्ञान विषय पढाईरहेका छन् । यसैगरी ३ वटा साझेदार संस्थाहरुले यि विषय पढाईरहेका छन् भने, परिषद आँफैले आँगिक कलेजको रुपमा ८ वटा शिक्षालय सञ्चालन गरिरहेको छ ।

तर पनि प्रदेशका सबै वडाहरुमा कृषि तथा पशु प्राविधिकहरुको अभाव कायमै छ । गण्डकी प्रदेशमा रहेका ८५ वटा गाउँपालिकाका ७ सय ५९ वडा मध्ये अधिकाँश वडामा कृषि तथा पशु प्राविधिक छ्रैनन् । प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सूचना अधिकारी ज्योती क्षेत्रीका अनुसार सबै वडामा प्राविधिक पुर्याउन लोकसेवा आयोगमार्फत परीक्षा लिईएको र छिट्टै प्राविधिकहरु वडा वडा जानेछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->