पोखरा/ गण्डकी विश्वविद्यालयले स्थानीय तहलाई आवस्यक दक्ष जनशक्ति उत्पादन गरी उनीहरुको कार्यलाई प्रभावकारी र कार्यदक्षता बढाउने उद्देश्यसाथ पालिका बिकास योजनाको पाठ्यक्रम बिकास गरी स्नात्तकोत्तर तहको पढाई गर्ने भएको छ । यसका लागि पहिलो चरणमा आइतबार विभिन्न स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतसंग उक्त बिषयको पाठ्यक्रमको आवस्यकता सम्बन्धि संक्षिप्त खाका प्रस्तुतसाथ अन्तरक्रियाको आयोजना गर्यो ।
स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले अहिले पालिकाको योजना बनाउँदै आएका छन । तर योजना बनाउँदा ज्ञानको अभाव भएकाले भनेजस्तो बन्न नसकेको व्यापक गुनासो रहदै आएको छ । साथै सिमित स्रोतसाधनको अधिकतम उपयोग गर्न नसकेको र कतिपय पालिकाले स्रोतको पहिचानसमेत गर्न सकेका छैनन । यही अवस्थालाई मध्यनजर राख्दै विश्वविद्यालयले स्थानीय तहलाई सहयोग पुग्नेगरी पाठ्यक्रम बनाएर पढाउने सोंच अघि बढाएको विश्वविद्यालयका रजिष्ट्रर डा.कैलाश तिमिल्सिनाले बताए । ‘पालिकाले योजना बनाउँदा कुनै पनि डेटा (तथ्यांक) प्रयोग गरेको पनि देखिएन’ उनले भने, ‘जस्तोकी हालको जनसंख्याको अवस्था, निश्चित एक अवधिमा हुनसक्ने जनसंख्या र त्यसलाई चाहिने शिक्षा कस्तो हुने भन्ने पनि योजनामा नसमेटिएकाले हामीले दक्ष जनशक्ती तयार पार्ने योजना अघि बढाएका हौ ।’

कार्यक्रममा योजनाविद् एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा.गिरीधारी शर्मा पौडेलले उक्त बिषयको पाठ्यक्रमको आवस्यकता सम्बन्धि संक्षिप्त खाका प्रस्तुत गरे । उक्त अवसरमा उनले हामी अहिले कहाँ छौ, नीति, रणनीति र कार्यक्रम के हुन र हामी कहाँ पुग्ने हो भन्नेमा स्पष्ट हुनुपर्ने बताए । ‘हामीलाई चाहिने जनशक्ति छैन, एकातिर माग अर्कोतर्फ पढाई भएको छ’ उनले भने, ‘सम्बधित विषयमा सोही क्षेत्रको व्यक्तिलाई शिक्षा दिनुपर्ने आजको आवस्यकता हो ।’ उनले पालिकाको बिकास योजना के हो ?, स्थानीय तहको बिकास सम्बन्धि दीर्घकालिन दृष्ट्रिकोण के हो र बिकास योजना किन बनाउने भन्नेबारेमा स्पष्ट पनि पारे ।
पौडेलले यस विषयको पढाई दुइ वर्षे अर्थात ४ सेमेष्टरको हुनुपर्ने भन्दै स्थानीय तहलाई आवस्यक दक्ष जनशक्ति उत्पादन गरी उनीहरुको कार्यलाई प्रभावकारी र दक्षता बृद्धि गर्नुपर्ने बताए । साथै विशेष उद्देश्यमा स्थानीय तहको कार्य प्रकृति अनुसार कार्य सम्पादन गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्ने र स्थानीय तहको कार्यलाई प्रभावकारी र कार्यदक्षतामा बृद्धि गरी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्त गर्न सहयोग गर्नु रहेको उनको भनाई छ ।
पौडेलले पहिलो सेमेष्टरमा बिकासका सिद्धान्तहरु, बिकास अर्थशास्त्र, स्थानीय अर्थतन्त्रको बिकास, राष्ट्रिय, प्रादेशिक र स्थानीय तहको लेखा, एप्लाईड तथ्यांक (लागत अनुमान र प्रक्षेपणसहित) पढाउनु पर्ने बताए । यसैगरी दोस्रो सेमेष्टरमा योजनाका सिद्धान्त र अभ्यास, स्थानीय तहको योजना प्रक्रिया, औजार र विधि, अनुसन्धान पद्धति, स्थानीय तहको संस्थागत र मानव बिकास र स्थानीय तहमा उद्यमशिलताको बिकास र औद्योगिकरण विषय पढाउनु पर्ने उनले उल्लेख गरे । साथै तेस्रो सेमेष्टरमा पूर्व संभाव्यता÷संभाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने, बिस्तृत आयोजना प्रस्ताव तयार गर्ने (क) बिस्तृत ईन्जिनियरिङ प्रतिवेदन तयार पार्ने, ख) सामाजिक प्रभाव मुल्यांकन र ग) वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार गर्ने), खरीद योजनाको तयारी र खरीद योजना अनुसार टेन्डरको तयारी, टेन्डरको आव्हान, टेन्डर मुल्यांकन र सम्झौता, बिकास योजनाको निरीक्षण, अनुगमन तथा मुल्यांकन र स्थानीय तह सम्बन्धि कानुनको अध्यययनसम्बन्धि पढाउनु पर्ने खाका उनले पेश गरे । चौथो तथा अन्तिम सेमेष्टरमा स्थानीय तहको आवधिक योजना निर्माण, वार्षिक कार्यक्रम तथा बजेटको तर्जुमा, राजस्व परिचालन योजना तर्जुमा र कार्यान्वयन, स्थानीय तहको मध्यकालिन खर्च संरचना तयार पार्ने र क्षेत्रगत रणनीति तथा योजना तर्जुमाको पढाई हुनुपर्ने उनले बताए । चारवटै सेमेष्टरको क्रेडिट ६०, क्रेडिट घन्टा ९००, सैद्धान्तिक ६० र व्यवहारिक ४० प्रतिशत पढाउनु पर्ने उनके खाकामा छ ।
अन्तरक्रियाका सहभागीले प्रस्तुत विषय सान्दर्भिक र अपरिहार्य रहेको बताए । साथै पालिकाको योजना बनाउन सक्ने, कर्मचारीको बढुवामा पनि सहयोग पुग्ने विश्वास उनीहरुको थियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समयसापेक्ष विषय पनि रहेको भन्दै महानगरबाट छात्रबृत्तिलगायत आवस्यक सहयोग रहने प्रतिवद्धता जनाए । पर्वतको मोदी गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्माले ढिलै भए पनि विश्वविद्यालयले सही विषय छनौट गरेकोमा खुशी व्यक्त गर्दै आवस्यक सहयोग गर्ने बताइन । विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले सबै सकरात्मक रहेकाले आफुहरुलाई उर्जा थपेको बताए । रजिष्ट्रार तिमिल्सिनाले प्रदेश सरकारसंग समन्वय गरी छिटो भन्दा छिटो पढाई थाल्ने तयारीमा रहेको बताए ।





