बागलुङ/ यहाँका सरकारी कार्यालय सार्वजनिक सूचनाका लागि सामाजिक सञ्जालकै भर पर्ने गरेका छन् । आफ्नै वेवसाइट भएका कार्यालयले वेवसाइट अध्यावधि नगर्ने र कतिपय कार्यालयको वेवसाइट नै नभएका कारण सार्वजनिक सूचनाका लागि सामाजिक सञ्जालको भर पर्नु परेको हो ।
सञ्चार माध्यामको सहयता लिन बजेट नहुने भएकाले पनि कार्यालयहरु असुरक्षित तरिकाले सामाजिक सञ्जालकै भरमा सूचना प्रवाह गर्छन् । गत बिहीबार जिल्लाका सरकारी कार्यालयका सूचना अधिकारी र संचारकर्मीबीच अन्तरक्रिया सहभागी सूचना अधिकारीहरुले सामाजिक सञ्जालकै भरमा सूचना प्रवाह भइरहेको बताए । बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको अगुवाईमा भएको अन्तरक्रियामा सहभागी सूचना अधिकारीले आफ्ना कार्यालयका गतिविधि फेसबुकमा नियमित अपडेट गर्ने गरेको बताएका थिए ।
जिल्लाका सरकारी कार्यालयले गरेका कामको प्रकृति तथा संचारकर्मीको अपेक्षा पहिचान गर्न आयोजना गरिएको कार्यक्रममा सहभागिले केही कार्यालयको वेवसाइटमा समस्या भएको बताए पनि अधिकांशले कार्यालयका हरेक गतिविधि फेसबुकमा अपडेट गर्ने गरेको बताए ।
प्रजिअ सुवेदीले प्रशासन कार्यालयको वेवसाइटमा सबै विवरण अपडेट नभएको र त्यसको व्यवस्थापनको काम गर्न निर्देशन दिएको बताए । ढोरपाटन शिकार आरक्ष कार्यालयका सूचना अधिकारीले समेत वेवसाइटमा समस्या देखिएपछि मर्मतको काम भइरहेको जानकारी दिए ।
अन्तरक्रियामा सहभागि शिक्षा शाखा, जिल्ला समन्वय समिति, सडक डिभिजन, प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना लगायतका कार्यालयका सूचना अधिकारीले कार्यालयको छुट्टै वेवसाइट नभकाले समस्या भएको बताए । कृषि, तथ्याङ्क तथा निर्वाचन कार्यालयका सूचना संघीय सरकारका वेवसाइटमा अपडेट हुने भए पनि जिल्लाका गतिविधी फेसबुकमार्फत् जानकारी दिने गरेको बताए ।
कार्यक्रममा केही कार्यालयमा भने अझै पनि सूचना प्रष्ट नभएको, जानकारी कम हुँदा संचारकर्मीलाई पनि दिन नसकेको बताइएको थियो । पत्रकारले पनि सूचना माग्दा असहज भएको, कतिपय सूचना प्रचारात्मक मात्रै आउने गरेको टिप्पणी भएको थियो ।





