बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङका २१ रुटमा भाडा समायोजन

बागलुङका २१ रुटमा भाडा समायोजन

बिशेषगरी मध्यपहाडी लोकमार्गको बागलुङदेखि गलकोट, बुर्तिवाङहुँदै जुग्जाखोला र बोङगादोभान, दक्षिणतर्फ कुश्मीसेरा र हुग्दीशिर सम्मको भाडा कायम गरिएको हो ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०८१, बुधबार

बागलुङ/प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको यातायात भाडादर निर्धारण समितिले बागलुङका २१ वटा रुटमा भाडा समायोजन गरेको छ ।
यसअघि लिंदै आएको भाडादरमा न्युन शुल्क घटाएर भाडादर कायम गरिएको हो । सोमबार बसेको समितिको बैठकले बिशेषगरी मध्यपहाडी लोकमार्गको बागलुङदेखि गलकोट, बुर्तिवाङहुँदै जुग्जाखोला र बोङगादोभान सम्मको भाडा समायोजन गरेको हो । दक्षिणतर्फ कुश्मीसेरा र हुग्दीशिर सम्मको भाडा कायम गरिएको हो ।
समितिले बनाएको कार्यदलले ल्याएको प्रस्तावमा बसको मात्रै भाडा घटाएर प्रस्तुत गरेको थियो । समितिमा उक्त कुरा खुलेपछि व्यवसायीले न्युनतम भाडा घटाउन सहमत भएका हुन् । नयाँ निर्धारण भएको भाडा अनुसार सदरमुकामदेखि गलकोटहुँदै बुर्तिवाङ सम्मको ९१ किमी, बुर्तिवाङदेखि १० किमीको बोङगादोभान र बागलुङदेखि ९९ किमीको जुग्जाखोलाका लागि रुट कायम भएको छ ।
त्यस्तै सदरमुकामदेखि २१ किमी दक्षिणको जैमिनी १ को कुश्मीसेरा र कुश्मीसेराहुँदै राङखानी र बरेङ गाउँपालिकाको हुग्दीशिर सम्मको ५३ किमी तथा बागलुङदेखि सिगानाहुँदै हुग्दीशिरको ४१ किमी सडक मात्रै परमिटमा परेको छ । त्यस बाहेक बागलुङदेखि ताराखोला गाउँपालिका केन्द्र रहेको भातखाने डाँडा सम्मको ४२ किमी र गलकोटदेखि ताराखोला १८ किमीको मात्रै रुट परमिट कायम भएको हो ।
व्यवसायीले यात्रीलाई मनोमानी भाडा लिएका थिए । २१ स्थानको भाडादर समायोजन भएकोमा केही स्थानको यथाबत छ भने केही स्थानमा न्युनतम रकम घटेको हो । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार सदरमुकामदेखि ९१ किमीको बुर्तिवाङका लागि अब जिपमा ९ सय ७० रुपैयाँ मात्रै तिरे पुग्नेछ । बसमा चढेमा ७ सय ८० रुपैयाँ भाडा लाग्ने भएको छ । यसअघि बसले ८ सय ४० र जिपले ९ सय ८० लेखेपनि १ हजार १ सय भाडा असुल गर्थे ।
त्यस्तै २१ किमीको कुश्मीसेराका लागि बसको २ सय २० र जिपको २ सय ६० बनाइएको छ । तर अहिलेसम्म यहाँको लागि जिपले ४ सय रुपैयाँ असुल्थे । मध्यपहाडी लोकमार्गकै खण्ड रहेको अक्षेतेका लागि १ सय भाडा तोकिएको छ । यहाँ ७ किमी दुरी छ । यसअघि जिपले यहाँ पुगेको १ सय ५० रुपैयाँसम्म असुल्थे । त्यसबाहेक जिपमा सुल्डाँडा गएको १ सय ३०, घोडाबाँधे गएको ३ सय ५०, नरेठाँटी गएको ५ सय १०, हटिया गएको ५ सय ६०, गलकोटदेखि ताराखोला गएको ३ सय ५०, बागलुङदेखि हरिचौर गएको ६ सय ७०, खरवाङ पुगेको ८ सय तोकिएको हो । सदरमुकामदेखि रत्नेचौरको ९०, बेनीको १ सय ३५ भाडा तोकिएको छ । सदरमुकामदेखि सिधै अर्गल गएको भने ६ सय ३५ रुपैयाँ भाडा कायम भएको हो ।
भाडा नतोकिएका दर्जनौं स्थानमा भने रुट परमिट नभएको हो । ती परमिट नभएको स्थानमा हाल रातो प्लेटले भाडाका यात्री बोकीरहेका छन् । ती स्थानमा भाडा कायम गर्न समितिले नसक्ने, तर रातो प्लेटले यात्री बोक्दा प्रहरीले अनुगमन गरी कारवाही गर्न सक्ने सुवेदीले जानकारी दिए । ट्राफिक प्रहरी प्रमुख सुमन निउरेले भने ग्रामीण क्षेत्रमा रातो प्लेट चल्न नदिए यात्रीले नै दुःख पाउने भन्दै ती गाडीको बचाउ गरे । तर उनले ती स्थानमा परमिट नभएकोले जोखिम मोल्न नहुने बताए । परमिट कायम नभएका ती गन्तव्यमा दैनिक सयौं मानिसको आवतजावत हुन्छ । प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ ले परमिट भएको स्थानको मात्रै समितिमार्फत भाडादर कायम हुने व्यवस्था गरेको छ । दररेट कायम भएपछि बढी असुल गरेको वा टिकट नदिएको अवस्थामा उजुरी गर्न सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->