बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘कालिका पानी’लाई कारवाही, २ लाख जरिवाना

‘कालिका पानी’लाई कारवाही, २ लाख जरिवाना

मोदी पानी उद्योगले पनि उपभोक्ता ठगेको भेटेपछि प्रशासनले कारवाही प्रक्रिया थालेको छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०८१, बुधबार

बागलुङ/बागलुङ बजारमा बिक्री भैरहेको ‘कालीका मिनरल वाटर’ पानीको उत्पादक ‘महालक्ष्मी मिनिरल्स् एण्ड बेभरेज उद्योग’लाई जिल्ला प्रशासन कार्यालयले कारवाही गरेको छ । एउटै उत्पादनलाई दुइथरी मूल्य राखेर उपभोक्तालाई ठगी गरेको भन्दै उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा २ को (क) अनुसार २ लाख रुपैयाँ जरिवाना गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले उद्योगलाई कारवाही गरिएको जानकारी दिए ।
गत साता उपभोक्ताले एउटै पानीको २० रुपैयाँ र ५० रुपैयाँ मूल्य राखेको भेटेपछि प्रशासनमा उजुरी गरेका थिए । बानपा ११ का लक्ष्मण केसीले दिएको उजुरीपछि प्रशासनले छानविन गर्दा उक्त दुइथरी मूल्य भेटिएको थियो । बजारमा बेच्दा २० रुपैयाँ राखिएको र बागलुङ नगरपालिका वडा नं. ३ को ‘दि राजन होटल’मा राखिएको पानीमा ५० रुपैयाँ मूल्य राखिएको थियो । केसीले होटलबाट पानी किन्दा ५० रुपैयाँ तिरेको बील समेत भेटेपछि प्रशासनले छानविन गरिरहेको थियो ।
बुधबार प्रशासनले उद्योगलाई कारवाही गरी २ लाख रुपैयाँ जरिवाना गरिएको पत्र पठाएको हो । उद्योगले होटललाई प्रतिबोतल १३ रुपैयाँमा बिक्री गरेको र होटलले आफ्नो लोगो प्रयोग गरेर ५० रुपैयाँमा बिक्री गरेको भेटिएको हो ।
त्यस्तै मोदी पानी उद्योगले पनि उपभोक्ता ठगेको भेटेपछि प्रशासनले कारवाही प्रक्रिया थालेको छ । उक्त उद्योगले पनि बागलुङका विभिन्न होटलमा मूल्य नै नराखी पठाएको भेटिएको हो । दुइथरी मूल्य कामय गर्ने, मूल्य नराखी अन्यौल बनाउने अवस्थामा पनि उपभोक्ता हित संरक्षण ऐन आकर्षित हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->