म्याग्दी/जिल्लाको पर्यटकीयस्थल टोड्केबाट बेनी नगरपालिका–१० वाखेतफर्त आउँदै गरेको ग १ ज ७१०६ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शुक्रबार राती रघुगंगा गाउँपालिका वडा नं. ५ झिँको भालटोके पाखोमा जीप दुर्घटना हुँदा चालक वाखेतका ५३ बर्षिय छबिलाल पुनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । ‘दुर्घटनामा घाईतेको अवस्था सामान्य छ, सबैको डिस्चार्ज भयो’ रायमाझीले भने ।
जीप दुर्घटनामा च्यापिएको अवस्थामा घाईतेको उद्धार गरिएको थियो भने केहीले हाम फालेर ज्यान जोगाएका थिए । जीपमा चालकसहित ५ जना सवार थिए । दुर्घटनामा वाखेतका गुन बहादुर पूर्जा, बिजय पाइजालगायत सवार थिए ।
दुर्घटनामा मृत्यु भएका र घाईतेको उद्धारका लागि बेनी नगरपालिका मेयर सुरत केसी सहितको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनाको जानकारी पाएपछि स्थानीयले उद्धार गरेका थिए । दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । रातको समय र अप्ठ्यारो सडक भएकाले दुर्घटना भएको हुनेसक्ने अनुमान गरिएको छ ।





