बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दब्ल्याङ पहिरो नियन्त्रणको काम थालियो

दब्ल्याङ पहिरो नियन्त्रणको काम थालियो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०८१, सोमबार

बागलुङ/चार वर्षदेखि बागलुङको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुट्ने गरी हरेक बर्खामा दुःख दिँदै आएको बागलुङ नगरपालिका वडा नं. १० गलुवाको दब्ल्याङमा खसेको पहिरो नियन्त्रको काम थालिएको छ । दब्ल्याङको पहिरो नियन्त्रणका लागि बागलुङ नगरपालिकाले उपभोक्ता समितिमार्फत् काम थालेको हो ।
पहिरो खसेको ठाउँमा थप क्षति हुन नदिन तारजाली र मेसिनरीवाल लगाउने काम सुरु भएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । त्यस्तै पहिरोमा खस्ने भलबाढी तर्काउने काम पनि एकैसाथ सुरु भएको छ । वैकल्पिक मार्गको व्यवस्था गरेर बागलुङ कुश्मीशेरा सडक रोकेरै धमाधम काम थालिएको हो ।
पहिरो नियन्त्रणका लागि पहिलो चरणमा पानी व्यवस्थापनको काम थाल्न पहिरोको भौगर्भिक अध्ययन गरेको ‘एक्सप्लोलर जियोलोजिक कन्सल्टेन्सी’ले दिएको सुझावका आधारमा नगरपालिकाले तारजाली लगाउने र पानी तर्काउने काम थालेको हो ।
पहिरोमा पानी मात्रै तर्काउँदा ५० देखि ७० प्रतिशत समस्या समाधान हुने पहिरो नियन्त्रणका लागि आवश्यक अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेबारी पाएको कन्सल्टेन्सीले सुझाव दिएको थियो । सोही अनुसार नगरपालिकाले काम थालेको हो ।
गण्डकी प्रदेश सरकारको ५० लाख रुपैयाँ अनुदान सहयोगमा पहिरो नियन्त्रणको काम थालिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताए । ४० लाख तारजाली र पक्की पर्खाल बनाउन र १० लाख भलबाढी तर्काउन खर्च हुने छ ।
गण्डकी सरकार भौतिक पूर्वाधार मन्त्रालयले पहिरो नियन्त्रणका लागि केही महिना पहिले बजेट पठाएको थियो । तालुक मन्त्रालयको बजेट पूर्वाधार विकास कार्यालय बागलुङले कार्यान्वयन गर्न नसकेपछि रकमान्तर गरेर नगरपालिकाले काम थालेको हो । बजेट नगरपालिका मातहत ल्याउँदा महिनौ लागेकाले बर्खा लागेपछि काम थाल्नुपरेको नगरपालिकाले जनाएको छ ।
७ सय मिटर लामो र १ सय ३५ मिटर फराकिलो पहिरो १५ देखि १८ मिटर गहिरो भएर बगेको छ । पहिरोकै कारण जम्मा भएको पुरुवा माटोमा सडक बनाउने र बर्षाको पानी व्यवस्थापन नहुँदा पहिरो सुरु भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
पहिरो नियन्त्रणका लागि पाईल फाउण्डेसनसहित पिल्लर हाल्ने, तारजाली लगाउने, मेसिनरीवाल लगाउने, पानी व्यवस्थापन गर्ने, पानी बग्ने पक्कि संरचना बनाउने र इकोप्लानिङ गर्ने सुझाव छ । प्रारम्भिक प्रतिवेदन अनुसार पहिरो नियन्त्रण गर्न ५ करोड, ४८ लाख ९३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो ।
अध्ययनपछि बर्खामा पहिरो थप बढेकाले लागत बढ्ने अनुमान थियो । एकैपटक तीनै तहका सरकारले ठुलो बजेट विनियोजन गरेर काम गर्न नसक्ने भएकाले तत्काल नियन्त्रण र रोकथामको काम थालिएको नगरप्रमुख श्रेष्ठ बताउँछन् । बागलुङको मालढुङ्गा–गलुवा–पाग्जा–बलेवाहुँदै कुश्मिसेरा जाने सडकअन्तर्गतको पहिरो नियन्त्रण गर्न विभिन्न क्षेत्रबाट पहल भैरहेको थियो ।
गलुवामा २०७८ साल असार १ गतेको भीषण बर्षापछिको पहिरोले कालीगण्डकी करिडोरसमेत बगाएपछि यो सडक हिउँदमा चल्ने र वर्षामा बन्द हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->