बागलुङ/सवारी चल्ने सडक बन्नुपूर्व गाउँभरि पदमार्ग थिए । स्थानीय भाषामा डहर भनिने पदमार्ग हिजोआज सडकले मासेको छ ।
सडक निर्माण र बाढी पहिरोका कारण मासिएका पदमार्गको पुननिर्माणमा कसैको ध्यान नपुगेका बेला यहाँको एक वडाले प्राथमिकतामा राखेर धमाधम पुननिर्माण थालेको छ । जिल्लाको जैमिनी नगरपालिका १ कुश्मीशेराले पदमार्गको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको हो ।
लामो यात्रा र टाढाको दूरीका लागि सवारीको प्रयोग भएपनि गाउँघरमा हिँडडुल गर्न सहज पदमार्ग तयार गर्न सडकले मासेका पदमार्ग पुननिर्माण थालिएको वडा अध्यक्ष विष्णु आचार्यले बताए । विद्यालय जाने बालबालिकाका लागि त गाउँघरमा अहिले पनि बाटो भनेकै पदमार्ग हो । जीर्ण पदमार्गको पुननिर्माणमा कसैको ध्यान नपुगेपछि वडा कार्यालय जुटेको छ ।
सडक र गाउँसँग जोडिएका दर्जनबढी पदमार्गको यसै वर्ष पुननिर्माण गरिएको आचार्य बताउँछन् । ‘गाउँघरमा मेलापात गर्न कठिन, अझै बाबुनानी स्कुल जाँदा कता लड्छन् भन्ने त्रास हुने,’ आचार्यले भने ‘हामी सडकमा केन्द्रित भयौं तर दिनप्रति दिन चाहिने डहर मास्यौं, गाउँदेखि विद्यालय जाने बाटो मास्यौं, अब पुन निर्माण आवश्यक छ ।’ चालु आर्थिक वर्षमा झण्डै डेढ किलोमिटर पदमार्गमा निर्माण गर्ने योजना वडाको थियो । वडाबाट विनियोजित बजेट र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पदमार्ग बनाईएको उनले बताए ।





